Cricket Himalaya
Cricket News From Top of The World

छात्रा क्रिकेट, कैलालीः व्रोडभिजन, शारदा र राष्ट्रिय तुल्सीराम मावि विजयी

धनगढी, माघ १०

धनगढीमा भईरहेको प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिवार तीन खेल सम्पन्न भएका छन् ।

कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिवार भएका खेलमा व्रोडभिजन एकेडेमी शारदा मावि र राष्ट्रिय तुल्सीराम मावि विजयी भएका छन् ।

शनिवारको पहिलो खेलमा शारदा माविले धनगढी नमुना माविलाई ६५ रनले हरायो । शारदाले पहिले व्याटिङ गर्दै १११ रन बनायो । प्रतिउत्तरमा धनगढी नमुना ४६ रनमा अलआउट भयो ।

दोस्रो खेलमा राष्ट्रिय तुल्सीराम माविले क्यास्पीयन एकेडेमीलाई ४ विकेटले हरायो । क्यास्पीयनले पहिलो व्याटिङ गर्दै ५६ रन बनायो । प्रतिउत्तरमा राष्ट्रिय तुल्सीरामले ६ विकेट क्षतिमा लक्ष्य भेटायो ।

शनिवारकै तेस्रो खेलमा व्रोडभिजन एकेडेमीले त्रिभुवन माविलाई ६ विकेटले हरायो । पहिलो व्याटिङ गर्दै त्रिभसवनले ६६ रन बनायो । प्रतिउत्तरमा व्रोड भिजनले ४ विकेट क्षतिमा विजयलक्ष्य भेटायो ।

प्रतियोगिता अन्तर्गत आईतवार दिन तीन खेल हुनेछन् । पहिलो खेलमा एरिषेट स्कुल र लिटिल फ्लावर स्कुल, दोस्रो खेलमा शारदा मावि र राष्ट्रिय तुल्सीराम मावि तथा तेस्रो खेलमा धनगढी नमुना मावि र क्यास्पीयन एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।

आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी टीमलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा व्रोड भिजन एकेडेमी, एरिष्टो ईङलिस स्कुल, त्रिभुवन मावि र लिटिल फ्लावर स्कुल रहेका छन् । त्यसैगरी समुह वी मा राष्ट्रिय तुलसीराम मावि, शारदा मावि, क्यास्पीयन एकेडेमी र धनगढी नमूना मावि रहेका छन ।

माघ १७ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा सहभागी आठ वटा टीमको जर्सीलाई विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन् ।

प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् । त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन्। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको छ ।

व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विद्यालय स्तरीय प्रतियोगिताको माध्यमले महिला खेलाडीहरुसँग भएको क्षमतालाई पहिलचान गर्दै आगामी दिनमा प्रशिक्षणको व्यवस्था समेत गरिने बताउनुभयो ।