Cricket Himalaya
Cricket News From Top of The World

रंगशाला निर्माण सहयोगार्थ चितवनमा ‘च्यारिटी क्रिकेट म्याच’ हुँदै

कार्तिक २२, क्रिकेट हिमालय

धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाईमा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगार्थ कार्तिक २३ गते बिहान ८ बजे देखि विशाल चोक ग्राउन्डमा ढिंडो क्रिकेट र एटएटफोरएट क्रिकेट क्लबबिच ‘मैत्रीपुर्ण च्यारिटी म्याच’ हुने भएको छ |

प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भै सकेको छ | कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा, भरतपुर महानगरपालिकाले बिश्वबिद्धालयलाई सट्टाभर्ना दिने गरि, अहिले रंगशाला बन्दै छ |

रंगशाला निर्माणका सम्बन्धमा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच गएको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो |

क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले तयार पारेको डिपिआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ | पाचवटा पिच हुने क्रिकेट मैदान ७० मिटर रेडियसको हुने छ |

कमलको फुलको आकार अनुरुप मल्लकालीन नेपाली वास्तुकलाको मिश्रण रंगशालामा देख्न पाइने जनाइएको छ |