Cricket Himalaya
Cricket News From Top of The World

नाइट क्रिकेट, इनरुवा : तेश्रो दिन फुलवारी क्रिकेट क्लब बिजयी

असोज ७, क्रिकेट हिमालय

सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा आयोजक फूलबारी क्रिकेट क्लब, इनरुवा बिजयी भएको छ ।

आयोजक इनरुवाले दुहवी विरुद्ध १ सय १९ रनको फराकिलो जित हात पारेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको आयोजक फूलबारीले २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा २ सय ९ रन बनाएको थियो । मिनास थापाले ८४ रनको पारी खेले । ५२ बलको सामना गरेका थापाले ७ चौका र ६ छक्का प्रहार गरे । टिमकालागि पुष्प थापा र फिरदोस अन्सारीले समान २५ रन बनाउँदा बिवेक मेहताले २१ र सोनु मण्डलले नटआउट १७ रनको पारी खेले ।

२ सय १० रनको लक्ष पछ्याएको दुहवी ९० रनमा समेटिएपछि आयोजकले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकालेको हो ।

विशाल लक्ष पछ्याएको दुहवी १७.५ ओभरमा अलआउट हुन पुगेको थियो । दुहवीलाई सस्तैमा समेट्न सरोज बस्नेत एक्लैले ५ विकेट लिए । मिनास थापा र पुष्प थापाले समान २/२ विकेट लिँदा फिरदोस अन्सारीको नाममा एक विकेट रह्यो । दुहवीका लागि सकिब हकले सर्वाधिक १७ रन जोडे ।

प्रतियोगिताको म्याद अफ दी म्याच अर्धशतकीय पारी खेलेका मिनास थापा घोषित भए ।

प्रतियोगिता अन्तर्गत आज राती हुने खेलमा विभागीय टिम एपिएफले सप्तरीको सामना गर्ने छ ।