भाद्र २९, क्रिकेट हिमालय
जनस्तरबाट निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि ‘कबड्डि कबड्डि’ फिल्म युनिटले रु ३ लाख रुपैंयाको चेक सहयोग स्वरुप धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ |
नेपाल र नेपालीलाई खेलकूदको माध्यमबाट चिनाउने राष्ट्रिय महत्वको विषय बनेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्पूर्ण देशभक्त नेपाली नागरिकको गौरव र भावनासँग जोडिएको वृहत परियोजना हो ।
यस परियोजनाको अस्थायी बारमा गत जेष्ठ १५ गते एकाबिहानै डोजर प्रयोग गरी अराजकता प्रदर्शन गरिएको थियो | तत्पश्चात उत्पन्न बिषम परिस्थिति, चुनौती र कर्मचारी माथिको खतरालाई ध्यानमा राखी तत्कालका लागि निर्माण कार्य स्थगित समेत भएको थियो |
परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्बपक्षिय ५ हजार १ सदस्यिय मुल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिबद्धता व्यक्त भएपश्चात फाउन्डेसनले रङ्गशालाको कामलाई निरन्तरता दिने निर्णय गरेको थियो |
पछिल्लो समयमा सबैलाई खड्किएको र खेलाडीहरुले समेत बोध गरेको आफ्नै अन्तराष्ट्रिय रंगशाला निर्माणको आवाजलाई सम्बोधन गर्न फाउन्डेसनले यो रंगशालाको अवधारणा सार्वजनिक गरि कार्य आरम्भ गरेको सर्वविदितै छ ।
यो अभियानमा स्वतःस्फूर्त अभियन्ता बनेर यस परियोजनालाई अपनत्व ग्रहण गर्दै जोडिन जरुरी छ |
यो हामी सबैको साझा अभियान र दायित्व पनि हो । हाम्रो अभियान राष्ट्र र भावी सन्ततीका लागि हो ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको नेतृत्व गर्न वा यसमा सहकार्य गर्न ईच्छुक व्यक्ति, संघसंस्थासँग सहकार्य गर्न फाउन्डेसन तयार छ |
राष्ट्रिय गौरवका यस्ता विषय नागरिक स्तरबाट बन्न सके राष्ट्र निर्माणको गतिमा तिव्रता आई राज्यलाई सहयोग हुनुका साथैं खेलाडीहरुमा आत्मसम्मानको अनुभूति हुने अनि खेलाडीको मनोवल उच्च हुन्छ भन्ने उत्कट चाहना पनि हो ।
कुनै पनि राष्ट्रिय महत्वका परियोजनाहरु एक्लैलाई गर्न असम्भवप्रायः छ, त्यसैले फाउन्डेसनलाई उर्जा थप्ने, हौसला प्रदान गर्ने, साथ र सहयोग गर्नेहरुको अपार स्नेहकै कारण यो लक्ष्यसम्मको यात्रा अघि बढेको छ |