Cricket Himalaya
Cricket News From Top of The World

के हो एपिएल, कसरी भर्ने फर्म

भदौ १, क्रिकेट हिमालय

तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिताको लागि आज (भदौ १ गते) देखी खेलाडी दर्ता खुलेको छ । केही दिन अगाडि सन्धिखर्कमा आगामी असोज/कार्तिकमा हुने अर्घाखाँची प्रिमियर लिगको लोगो तथा प्रतियोगिताको लागि खेलाडी दर्ताको मिति सार्वजनिक गरिएको थियो ।प्रतियोगिताको लागि भदौभर अर्घाखाँची जिल्लाभरका खेलाडीले नाम दर्ता गर्न सक्नेछन् । खेलाडीले अर्घाखाँचीको सन्धिखर्क सहित विभिन्न स्थानबाट नाम दर्ता गर्न सक्नेछन् ।

के हो एपिएल ?

एपिएल अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा संचालित अर्घाखाँची क्रिकेट एकेडेमीले बि.स २०७४ बाट सुरु गरेको अर्घाखाँची जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको अर्घाखाँची प्रिमियर लिग क्रिकेट प्रतियोगिताको हो । यस प्रतियोगिताका पहिला २ संस्करणमा ४ टिमको सहभागी थियो तर आगामी असोज/कार्तिकमा हुने तेस्रो संस्करणमा ५ टिम सहभागी गराउने तयारी रहेको छ । बि.स २०७४ मा भएको यस प्रतियोगिताको पहिलो संस्करणको उपाधी त्रिभुज कार्किको कप्तानिमा रहेको सुपर सुपा एघारले हात पर्दा बि.स २०७५ मा भएको दोस्रो संस्करणको उपाधी जगत क्षेत्री (सन्जु) को कप्तानिमा रहेको रोयल सन्धिखर्कले हात पारेका थिए । डिउज बल खेल्नको लागि भौतिक संरचना उपयुक्त नभएकोले प्रतियोगिता टेनिस बलले संचालन भइरहेको छ । यस अगाडि अर्घाखाँची क्रिकेट एकेडेमीले आयोजना गरिरहेको प्रतियोगिता अब जिल्ला क्रिकेट संघले गर्नेछ ।

कसरी भर्ने फर्म ?

तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिग (एपिएल) को फर्म अर्घाखाँचीका विभिन्न स्थान सगै बुटवल र काठमाडौबाट भर्न सकिन्छ । प्रतियोगिताको लागि आफ्नो नाम दर्ता गर्न इच्छुकले जिल्ला क्रिकेट संघबाट तोकिएको शुल्क सहित आवेदन फर्म भरी, नेपाली नागरिकताको प्रतिलिपी वा परिचय खुल्ने सरकारी कागजातको प्रतिलिपी, २ प्रति पासपोर्ट साइजका फोटा संलग्न गरि तोकिएको स्थानमा पेश गर्नुपर्नेछ । (इच्छुकले यस अगाडि आफुले खेलेका प्रतियोगिताको र त्यसमा आफुले गरेको प्रदशन पनि पेश गर्न सक्नुहुनेछ)

(* फाराम भर्ने स्थान फोटोमा राखिएको छ)