Cricket Himalaya
Cricket News From Top of The World

सप्तरी प्रीमियर लिग : तेश्रो दिन तिलाठी कोइलाडी र रुपनी राइडर्स बिजयी

असार ४, क्रिकेट हिमालय
सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनका खेलहरु अन्तर्गत तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्सले जित दर्ता गरेका छन्।

दोश्रो खेल

रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गर्यो। दोश्रो जित सहित रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ।

पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो।

डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाए।

रुपनीको लागि बलिंगमा प्रदिप पासवानले सर्वाधिक ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो।

रुपनीको लागि ओपनिंग ब्याटिंग गरेका सोनु अन्सारीले आक्रामक इनिंग खेल्दै मात्र २३ बलमा ४ छक्का र ४ चौका मदतले सर्वाधिक ४४ रन बनाए। यस्तै अनोज यादबले पनि इनिंगको अन्तिममा ५ छक्का प्रहार गर्दै २३ बलमा ३६ रन बनाए। कप्तान मेहबुब आलमले १६ तथा हसिम अन्सारीले १५ रन बनाए।

डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा अफ-स्पिनर दिपेश कंडेलले सर्वाधिक ३ विकेट, पुष्प थापा र प्रेम तामांगले २/२ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए।

पहिलो खेल

दिनको पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सलाई ८ विकेटले सहजै पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। प्रतियोगितामा खडक वारियर्सको यो दोश्रो हार हो।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा गर्यो।

तिलाठी कोइलाडीको जितमा ओपनिंग ब्याट्सम्यान सुनिल धमलाले आक्रामक ब्याटिंग गर्दै अविजित ८४ रन बनाए। राष्ट्रिय टिमको लागि समेत खेलीसकेका धमलाले ५५ बलमा १० चौका र २ छक्का प्रहार गरे। यस्तै सुरज पटेलले ३४ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो।

वारियर्सको लागि कप्तान राजेश पुलामीले सर्वाधिक ५० रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे। यस्तै अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए।

तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २/२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १/१ विकेट लिए। धमलाले ४ ओभरमा मात्र १३ रन खर्चिए।
सुनिल धमला खेलको प्लेयर अफ द म्याच चुनिए।

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन्।

बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।