Cricket Himalaya
Cricket News From Top of The World

पहिलो यु-१६ एण्ड एसईई कप क्रिकेट प्रतियोगिताको उपाधी सन्धिखर्कलाई

जेष्ठ ३२, क्रिकेट हिमालय

जिल्ला क्रिकेट संघ, अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पहिलो पालिका स्तरीय यु-१६ एण्ड एसईई कप क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । जिल्लाको जुनियर क्रिकेट टिम तयार गरि उत्कृष्ट खेलाडीलाई थप अभ्यासको लागि मौका दिने उदेश्यले आयोजित प्रतियोगितामा अर्घाखाँची जिल्लाका जम्मा ६ पालिका मध्ये ३ नगरपालिका र २ गाउँपालिका गरि ५ पालिका सहभागी भएका थिए । भुमिकास्थान, सन्धिखर्क र शितगंगा नगरपालिका तथा छत्रदेव र मालारानी गाउँपालिका सहभागी भएको प्रतियोगिता नक-आउट प्रणालीमा भएको थियो । प्रतियोगिताका सबै खेल सन्धिखर्क नगरपालिका वडा न. १ मा रहेको टुडिखेल मैदानमा सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा भुमिकास्थान नगरपालिकाले छत्रदेव गाउँपालिकालाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको छत्रदेव १७ ओभरमा ८० रन जोड्दा अल आउट भयो । छत्रदेवका लागि मनोज थापा मगर र स्माइल थापाले समान १२ तथा विशाल पाण्डेले १३ रन जोड्नु बाहेक अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने भुमिकास्थानको लागि बिवेक पुन र कुलदिप सारुले समान ३/३, अर्बि जिएमले २ तथा सन्देश जिएम र लक्की भुसालले १ विकेट लिए । जवाफी ८१ रनको लक्ष्य पछ्याएको भुमिकास्थानले ७.२ ओभरमा विना विकेट लक्ष्य भेट्टयायो । जसका लागि लक्ष्मण रायमाझीले ४२ र अनिल भुसालले ३७ रन जोडे भने छत्रदेवका कुनै खेलाडीले विकेट लिन सकिनन । खेलमा ४२ रन जोडेका लक्ष्मण रायमाझी प्लेयर अफ दि म्याच घोषित भए । छत्रदेव गाउँपालिकाले हिजो मालारानी गाउँपालिकालाइ पराजित गरेर भुमिकास्थानसंगको भेट पक्का गरेको थियो ।

त्यस्तै आजको दोस्रो खेलमा सन्धिखर्क नगरपालिकाले भुमिकास्थान नगरपालिकालाई १० रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको सन्धिखर्कले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनायो जसका लागि प्रेम श्रेष्ठले ७१, रमेश श्रेष्ठले २०, बिवेक बन्जाडेले १५ र प्रेम रायमाझीले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन भने भुमिकास्थानकालागि गणेश के शि र अर्बि जिएमले समान २ तथा कुलदिप सारु, विवेक पुन र सन्देश जिएमले समान १ विकेट लिए । १६२ रनको लक्ष्य पछ्याएको भुमिकास्थान १८.३ ओभरमा १६१ रन जोड्दा अल आउट भयो जसको लागि लक्ष्मण रायमाझीले ३८, उत्तम थापाले ४८, सन्देश जिएमले २६ र अर्बि जिएमले २३ रन जोड्दा अरु खेलाडी दोहोरो रन विहिन भए भने सन्धिखर्कको लागि प्रेम रायमाझी र प्रेम श्रेष्ठले समान ३/३, बिजय बन्जाडेले २ तथा बेवेक बन्जाडे र रेशम थापाले समान १/१ विकेट लिए । ब्याटिङ तर्फ ७१ रन र बलिङ तर्फ ३ विकेट लिएका प्रेम श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच घोषित भए । सन्धिखर्कले शितगंगा र भुमिकास्थानले छत्रदेवलाइ पराजित गरेर फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको उत्कृष्ट बलर भुमिकास्थानका बिबेक पुन, उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्स्म्यान सन्धिखर्कका प्रेम श्रेष्ठ घोषित भए ।