Cricket Himalaya
Cricket News From Top of The World

पहिलो दिन छत्रदेव र सन्धिखर्क विजयी

जेष्ठ ३१, क्रिकेट हिमालय

जिल्ला क्रिकेट संघ, अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पहिलो पालिका स्तरीय यु-१६ एण्ड एसईई कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । प्रतियोगितामा अर्घाखाँची जिल्लाका जम्मा ६ पालिका मध्ये ३ नगरपालिका र २ गाउँपालिका गरि ५ पालिका सहभागी हुनेछन् । भुमिकास्थान, सन्धिखर्क र शितगंगा नगरपालिका तथा छत्रदेव र मालारानी गाउँपालिका सहभागी हुने प्रतियोगिता नक-आउट प्रणालीमा भएको छ । प्रतियोगिताका सबै खेल सन्धिखर्क नगरपालिका वडा न. १ मा रहेको टुडिखेल मैदानमा भइरहेका छन् ।

पहिलो खेल : छत्रदेव गाउँपालिका भर्सेज मालारानी गाउँपालिका

प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा छत्रदेव गाउँपालिकाले मालारानी गाउँपालिकालाई १४ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको छत्रदेव ११ ओभरमा ८० रन जोड्दा अल आउट भयो । छत्रदेवका लागि उप कप्तान मनोज थापा मगरले ३७ रन जोड्नु बाहेक अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने मालारानीको लागि मिलन श्रीस, विवेक राना र सोमपाल बि.कले समान ३/३ तथा सुशील रिजालले १ विकेट लिए । जवाफी ८१ रनको लक्ष्य पछ्याएको मालारानी १३.५ ओभरमा ६६ रन बनाउदा अल आउट भयो जसका लागि आदित्य रिजालले २३, सागर बि.कले १५ र बिष्णु बि.कले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने छत्रदेवको लागि मनोज थापाले ४, आशिक थापाले ३, प्रविन पाण्डेले २ र रेशम थापाले १ विकेट लिए । बलिङ तर्फ ४ विकेट लिएका र ब्याटिङ तर्फ ३७ रन जोडेका छत्रदेवका मनोज थापा प्लेयर अफ दि म्याच घोषित भए ।

दोस्रो खेल : सन्धिखर्क नगरपालिका भर्सेज शितगंगा नगरपालिका

त्यस्तै आजको दोस्रो खेलमा सन्धिखर्क नगरपालिकाले शितगंगा नगरपालिकालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको शितगंगाले १६ ओभरमा १२३ रन जोड्दा अल आउट भयो जसका लागि सन्दीप चर्तीले २६, विवेक अधिकारीले १५, राजन भण्डारी र सबिन श्रेष्ठले समान १४ तथा सुवास बि सिले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । सन्धिखर्कको लागि विजय बन्जाडे र सन्जु सुनारले ३/३, प्रेम श्रेष्ठले २ तथा नवीन घिमिरेले १ विकेट लिए । १२४ रनको लक्ष्य पछ्याएको सन्धिखर्कले १६ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्यायो, जसका लागि प्रेम श्रेष्ठले ५५ रनको अर्धशतकिय पारी खेल्दा रमेश श्रेष्ठले ३५ र मदन घिमिरेले २५ रन जोडे भने शितगंगाका सन्दीप चर्ती र सुवास भाट क्षेत्रीले १/१ विकेट लिए । ५५ रन र २ विकेट सहितको उत्कृष्ट कप्तानी पारि खेलेका सन्धिखर्कका प्रेम श्रेष्ठ प्लेयर अफ दि म्याच घोषत भए ।

प्रतियोगिताको दोस्रो दिन अर्थात भोलीको पहिलो खेलमा छत्रदेव गाउँपालिका र भुमिकास्थान नगरपालिका भिड्नेछन् भने यस खेलको विजेता भोलि दिउँसो नै फाइनलमा सन्धिखर्क संग खेल्नेछ । प्रतियोगिताको आज आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघमा अध्यक्ष हिम लेकालीले गरेको बलिङमा सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले ब्याटिङ गरेर उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता, जिल्ला क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषिकेश भट्टराईको अध्यक्षता, जिल्ला क्रिकेट संघ अर्घाखाँचीका उपाध्यक्ष अशोककुमार भुसालको स्वागत मन्तव्य र कमल बिष्ट संचालनमा सम्पन्न भएको थियो ।

नगद रकम १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रथम पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी विधातर्फ प्रत्येक खेलको प्लेयर अफ दि म्याच सहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटसन्यास र उदयमान खेलाडीलाई विभिन्न पुरस्कार राखिएको छ ।