Cricket Himalaya
Cricket News From Top of The World

यु१६ रास्ट्रीय क्रिकेट लिग : प्रदेश २ र प्रदेश ५ विजयी

चैत्र २१, काठमाडौं

प्रदेश २ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिग अन्तर्गत बिहीबारको खेलमा जित दर्ता गरेका छन् । प्रदेश २ ले प्रदेश १ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्दा प्रदेश ५ ले पनि प्रदेश ६ लाई सोहि अन्तरले पराजित गर्यो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोज्दै १५.५ ओभरमा अलआउट हुनुअघि ७८ रनमात्र जोड्न सक्यो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले राम्रो योगफल खडा गर्न सकेन । विशालले इनिङसको दोस्रो, तेस्रो र पाँचौ बलमा विकेट लिएका थिए । उनले शकिब अन्सारी र अभिषेक बराललाई एलबीडब्लू तथा अंकित श्रेष्ठलाई शून्यमै बोल्ड गरेका थिए । विशालले तेस्रो ओभरमा पनि समिर कार्कीलाई १० रनमा आउट गर्दै प्रदेश १ लाई २१-४ को दयनीय अवस्थामा पुर्याए ।

मध्यक्रममा कप्तान दिपेश कँडेलले ३३ रन जोडेपछि प्रदेश १ ले सम्मानजनक योगफल खडा गरेको थियो । उनले ३६ बलको सामना गर्दै ६ चौका प्रहार गरे । ओपनर रुपक बरालले ८ तथा विपिन महतोले ६ रन जोडे ।

प्रदेश २ का लागि म्यान अफ द म्याच विशालले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अरबाज अन्सारीले ३, निखिल सिंहले २ तथा सतिश यादवले १ विकेट लिए ।

जवाफमा प्रदेश २ ले १६ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । प्रदेश १ का कप्तान दिपेश कँडेलले सुरुवाती ३ विकेट लिएपनि साहिल कुमार पटेल र पर्शुराम यादवले साझेदारी गरेपछि प्रदेश २ ले सहज जित दर्ता गर्यो । दिपेशले इमरान शेखलाई ४, रोहनराज विकलाई १ तत्थ मेघराज महरालाई शून्यमा पेभेलियन फर्किए ।

साहिल र पर्शुरामले चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे । साहिलले ३८ बलमा ३५ रन जोड्दै दिपेशकै बलमा बोल्ड भए । उनले ३ चौका र १ छक्का प्रहार गरे । पर्शुरामले ३३ बलमा ३ चौकाको मदतले नटआउट २६ रन जोडे ।

दिनको दोस्रो खेलमा प्रदेश ५ ले प्रदेश ६ लाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको प्रदेश ६ ले २४.२ ओभरमा अलआउट हुनुअघि ७१ रन जोडेको थियो । निकै खराब सुरुवात पाएको प्रदेश ६ का तल्लोक्रमका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडेपनि बलियो योगफल भने खडा गर्न सकेनन् । ओपनर मोहन जीसी १, पारस खड्का ५ र सन्दीप जंग शाहीलाई शून्यमा गुमाएको प्रदेश ६ ले एक समय २० रनको स्थितिमा ५ विकेट गुमाएको थियो ।

प्रदेश ५ का रमेश कुर्मीले ६ ओभरमा मात्र ७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएपछि प्रदेश ६ ले कमजोर सुरुवात पाएको थियो । कप्तान विभान मगर १०, प्रणव बदेल १ र युनिष सिंह ७ रनमा आउट भएपछि मध्यक्रम पनि धराशायी बनेको थियो । लगातार विकेट गुमाएपछि प्रदेश ६ ४१-९ को स्थितिमा पुगेको थियो ।

दशौँ विकेटका लागि युवराज खत्री र बेनित खत्रीले ३० रनको साझेदारी गर्दै प्रदेश ६ लाई राम्रो स्कोरसम्म पुर्याए । युवराजले ३३ बलमा २ चौकासहित १७ रन जोडे । बेनित २८ बलमा १० रन जोड्दै नटआउट रहे । त्यसअघि विमल जंगमल्लले १८ बलमा ३ चौकासहित १३ रन जोडेका थिए ।

प्रदेश ५ का लागि रमेशको ४ विकेटसँगै सुरज खड्का र प्रकाश गिरिले २-२ तथा अभिषेक गौतम र सिराज गैरेले १-१ विकेट हात पारे ।

जवाफमा प्रदेश ५ ले १३ औं ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर अमर मिश्रालाई शून्यमा गुमाएपनि सुशान्त थापाले नटआउट ३१ रन जोडेपछि टोलीले सहजै जित हात पार्यो । उनले २९ बलको सामना गर्दै ४ चौका प्रहार गरे । उनलाई ८ बलमा २ चौका र १ छक्कासहित १६ रन जोडेका कप्तान विशालविक्रम केसीले राम्रो साथ् दिए । दिवस सेन्चुरीले ७ रन तथा प्रकाश गिरीले ९ रन जोडे ।

प्रदेश ६ का राजकुमार शाही, युवराज खत्री र युनिष सिंहले १-१ विकेट लिए । पहिलो खेलमा प्रदेश ३ सँग पराजित भएको प्रदेश ५ ले दोस्रो खेलमा जित दर्ता गरेको हो । प्रदेश ६ ले भने अघिल्लो खेलमा प्रदेश ४ लाई पराजित गरेको थियो ।