Cricket Himalaya
Cricket News From Top of The World

कलेज क्रिकेट लिग (CCL), पहिलो दिन : केसीसी र केयुको विजयी सुरुवात

चैत्र १०, काठमाडौं

कान्तिपुर सिटि कलेज (केसीसी) र काठमाडौं विश्वविद्यालयले गोल्डेन गेट कलेज क्रिकेट लिगको पहिलो दिन जित हासिल गरेका छन् ।

पहिलो खेल

किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा एडिया केसीसीले अर्किड इन्टरनेसनल कलेजलाई ५ विकेटले हरायो । टस जितेर ब्याटिङको निम्तो पाएको अर्किडले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमात्र जोड्न सक्यो । केसीसीका दिनेश आग्रीले ह्याट्रिकसहित ४ विकेट लिएपछि अर्किड सामान्य स्कोरमा समेटिएको थियो । अर्किडका सचिन अधिकारीले २८ बलमा ३ चौका र १ छक्कसहित ३० रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । शीर्षक्रममा हेमन्त ओली १४ र निश्चल अर्याल १६ रन जोडेपनि तल्लोक्रमले राम्रो प्रदर्शन गर्न सकेनन् । अर्किडका दिनेशले १७ औं ओभरको तेस्रो चौथो र पाँचौ बलमा महेश खत्री, चन्द्रकान्त पौडेल र सुमन हुमागाईंलाई लगातार आउट गर्दै ह्याट्रिक लिए । उनले समग्रमा २२ रन खर्चेर ४ विकेट हात पारे । सुवास बुढाले २ तथा नगेन्द्र उपाध्याय, ध्रुब पन्थी र संजय यादवले १-१ विकेट लिए ।

जवाफमा केसीसीले १८.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । दिनेश आग्रीले सातौं नम्बरमा आएर १४ बलमा नटआउट २३ रन जोडेपछि जितसम्म पुगेको थियो । दिनेशले २ चौका र विजयी छक्का प्रहार गरे । विरेन्द्र बम १३ रनमा नटआउट रहँदा ओपनर रमेश भट्टले २२ रनको योगदान दिए । केसीसीका सन्तोष साह ९, नगेन्द्र उपाध्याय ८ र दीपेन्द्र एरि ११ रनमा आउट हुँदा लोकेन्द्र चन्दले खाता खोल्न सकेनन् । सुमन हुमागाईंले २ तथा चन्द्रकान्त पौडेल र विज्ञान गौतमले १-१ विकेट लिए ।

दोस्रो खेल

त्यस्तै दोस्रो खेलमा काठमाडौं विश्वविद्यालय (केयु) ले नेपाल बन कलेज माथि १ सय १७ रनको फराकिलो जित दर्ता गर्यो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको केयुले दुई अर्धशतकको मदतले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रनको विशाल योगफल तयार पार्यो । केयुका लागि प्रविन रिजाल र दिनेश बुढामगरले अर्धशतक प्रहार गरे । ओपनर प्रविनले ५१ बलमा ६ चौकाको मदतले ५१ रन जोडे । उनले दोस्रो विकेटका लागि ५० रन जोडेका दिनेशसँग ९६ रनको साझेदारी गरे । दिनेशले ३७ बलमा ६ चौका र १ छक्कासहित ५० रन जोडे । कप्तान इशान पाण्डेले १४ बलमा ३ चौका र २ छक्कासहित ३२ रन जोड्दा रविन जोशीले १४ रन जोडे । बनका जय साउदले ३ तथा युन्तेन लामाले २ विकेट लिए ।

विशाल लक्ष्य पछ्याउने क्रममा बन कलेज १२.५ ओभरमा ७१ रन जोड्दै अलआउट भयो । बनका लागि अहमदले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । केयुको घातक बलिङसामु ५ ब्याट्सम्यान खाता नखोल्दै पेभेलियन फर्किए । रुपेश श्रीवास्तव र सोमु देवकोटाले २-२ विकेट लिए । नविन यादवले २ तथा अर्पण क्षेत्री र सगर शर्माले १-१ विकेट हात पारे ।

उपत्यकाका १२ कलेज सहभागी प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् । ८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित लागत रु ३० लाख रहेको छ । प्रतियोगिताको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाले गरेका थिए । उद्घाटन समारोहमा हिसानका अध्यक्ष रमेश सिलवाल, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

सहभागी कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह “ए” समुह “बी” समुह “सी” समुह “डी”
अर्किड इन्टरनेशनल कलेज काठमाडौं युनिभर्सिटी नेपाल कमर्स क्याम्पस गोल्डेन गेट इन्टरनेशनल कलेज
कान्तिपुर सिटि कलेज (केसीसी) नेपाल बन कलेज हिमालय कलेज त्रिभुव बिश्वबिद्यालय
ट्रिटन इन्टरनेशनल कलेज त्रि चन्द्र क्याम्पस शंकर देव क्याम्पस ओमेगा इन्टरनेशनल कलेज