Cricket Himalaya
Cricket News From Top of The World

प्रधानसेनापति कप क्रिकेट : सैनिक र राजन मेमोरियल स्कुल फाइनल प्रवेश

फाल्गुन १६, क्रिकेट हिमालय

आयोजक सैनिक आवासिय र राजन मेमोरियल स्कुल भक्तपुरमा जारी विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन । भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताको शुक्रबार हुने फाइनलका विजेताले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

पहिलो सेमिफाइनल : सैनिक र जेम्स

वर्षाले खेल प्रभावित भएपछि २० ओभरलाई १० ओभरमा घटाइएको खेलमा जेम्सले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गर्न आएको सैनिक निर्धारित १० ओभरमा सात विकेटको क्षतिमा ६८ रनको योगफल तयार गरेको थियो । सैनिकको लागि श्रीजन गुरुङले सर्वाधिक १८ रन, प्रथम बुडालले १३ र निश्चय थापाले ११ रनको योगदान दिए । बलिङतर्फ जेम्सका सुजल ओलीले दुई र अथर्व पौडेलले एक विकेट लिए । जवाफी व्याटिङमा आएको जेम्सले १० ओभरमा तीन विकेट बाँकी छँदै ३१ रनमा समेटिएको थियो । जेम्सको लागि आयुष उपाध्यायले मात्रै दुई अंकको रन जोड्न सके । बलिङतर्फ सैनिकका क्रिस कार्की, अर्जुन तामाङ र आशिष कुँवरले समान २/२ विकेट लिए । दुई विकेटको लागि पाँच रनमात्रै खर्चेका सैनिकका अर्जुन तामाङ उक्त स्पर्धाका म्यान अफ द म्याच घोषित भए ।

दोश्रो सेमिफाइनल : डिएभि र राजन मेमोरियल

टस जितेर व्याटिङमा ओर्लेको राजनले पूरै दस ओभरमा चार विकेटको क्षतिमा ६९ रन जोडेको थियो । उसको लागि अनुप नेपालले सर्वाधिक ३२ रन जोडे । त्यस्तै विजय तामाङले ११ र सन्देश दाहालले नटआउट ९ रनको योगदान दिए । बलिङतर्फ डीएभीका अर्पित खेतान र शिखर बोथ्राले एकएक विकेट लिए । जवाफी व्याटिङमा आएको डीएभी १० ओभरमा ९ विकेट गुमाउदै ६८ रन बनायपछि झिनो १ रनले पराजित रह्यो । बलिङतर्फ राजन मेमोरियलका सन्देश दाहालले तीन, सुजन तामाङले दुई र विजय तामाङले एक विकेट लिए । डीएभीका महत्वपूर्ण तीन विकेट लिएका राजन मेमोरियलका सन्देश दाहाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार फाइनल तथा पुरस्कार वितरण हुने आयोजक स्कुलका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा फाइनल तथा पुरस्कार वितरण हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ विद्यालयको सहभागिता रहेको छ । गत वर्षसम्म प्रतियोगितामा उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । यसवर्ष नगद पुरस्कार एकलाख रुपैयाँ पुर्याइयेको खेलकुद इन्चार्ज राणाले बताए ।