Cricket Himalaya
Cricket News From Top of The World

दोस्रो अर्घाखाँची प्रीमियर लीग : फाइनल भोलि, एम्स स्टार र रोयल सन्धिखर्क भिडने !

नारायण पान्डे/असोज १९, अर्घाखाँची

अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा संचालित अर्घाखाँची क्रीकेट एकेडेमीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क टुडिखेल मैदानमा २०७५ असोज १२ गते शुक्रबार विशेष कार्यक्रमका बिच उद्घाटन भइ सुरु भएको दोस्रो संस्करणको अर्घाखाँची प्रीमियर लिग टि-ट्वान्टी क्रीकेट प्रतियोगिता भोली सकिदै छ।फाइनल खेल भोलि एम्स स्टार र रोयल सन्धिखर्क बिच हुनेछ।

डबल राउन्ड रोबिन लिगको आधारमा जारी प्रतियोगितामा लिग चरणका खेल सम्पन्न भएका छन्।जसमध्ये रोयल सन्धिखर्क ५ खेल मध्ये ४ खेल जितेर फाइनलमा स्थान बनाएको हो भने एम्स स्टारले ६ खेल मध्ये ५ खेल जितेर फाइनलमा स्थान बनाएको हो। लिग चरणको अन्तिम रोयल सन्धिखर्क र एम्स स्टार बिचको खेल प्राविधिक कारणले रद्द भएको थियो।

यहि प्रतियोगितामा यस अगाडि रोयल सन्धिखर्क र एम्स स्टार दुई पटक खेल्दा दुबै टिम १/१ खेलमा विजयी भएका थिए।दुई उत्कृष्ट टिम बिचको फाइनल खेल निकै रोमाञ्चक हुने देखिन्छ।एम्स स्टार बिक्रम कुमार भुसाल र रोयल सन्धिखर्क जगत क्षेत्री सन्जुको कप्तानिमा मैदान उत्रनेछन। फाइनल खेल सन्धिखर्क स्थित टुडिखेल मैदानमा ११ बजेबाट हुनेछ।

त्यस्तै प्रतियोगितामा बिक्रम कुमार भुसालको कप्तानिमा एम्स स्टार,जगत क्षेत्रीको कप्तानिमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानिमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्किको कप्तानिमा सुपर सुपा च्यालेन्जर्स गरि ४ टिम सहभागी छ।प्रतियोगिताको विजेताले १ लाख ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले ५५ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।प्रतियोगितामा विभिन्न १३ विधामा पुरस्कार राखिएको छ।