Cricket Himalaya
Cricket News From Top of The World

क्रिकेट एसोसिएसन अफ गुल्मीलाई फर्केर हेर्दा बिगत र बर्तमान

असोज १५, मोहन ज्ञवाली, गुल्मी | क्रिकेट हिमालय

करीब आज भन्दा ११ बर्ष पहिला २०६४ साल भाद्र २२ गतेको दिन क्रिकेट एसोसिएसन अफ गुल्मी क्यान को तदर्थ समिती स्थापनाको लागि रेसुङ्गा संयुक्त सचेत युवा क्लबका सम्योजक श्री श्याम क्षेत्रीको संयोजकत्व तथा गुल्मीको सदरमुकाम तम्घास उपत्यकाका खेल प्रेमी महानुभाबहरुको उपस्थितिमा क्रिकेट एसोसिएसन अफ गुल्मी क्यानको तदर्थ समिती गठन भएको थियो । सोही दिन विभिन्न प्रस्तावमा निर्णयहरु गर्दै स्थापित तदर्थ समिती क्यान गुल्मीले ९ सदस्यीय कार्य समिति गठन गरेको थियो । श्याम क्षेत्रिको सम्योजक रहेको क्यान गुल्मीमा रमेश श्रीस सह सम्योजक, भगतसिह खड्का सचिब, राजु कुवर कोषाध्यक्ष तथा सदस्यहरुमा भरत थापा, टिकाराम भलामी, महेश्वर घिमिरे, राजेन्द्र पोखरेल र राजु नेपाल सहित को कार्य समिति निर्माण भएको थियो । साथै क्यान गुल्मी को सल्लाहकार समितीमा तत्कालिन प्रमुख जिल्ला अघिकारी गुल्मीका अब्दुल कमल खाँ, जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष प्रितम काउछा तथा नेपाल पत्रकार महासंघ गुल्मीका समापती हरिकुमार श्रेष्ठ रहेका थिए । स्थापित समितिबाट क्रिकेट एसोसिएसन अफ गुल्मीको तदर्थ समितिलाई बैधानिक दिई दर्ता प्रक्रिया अगाडि बढाउने कार्यको निर्णय गर्दै क्रिकेट एसोसिएसन अफ गुल्मी तदर्थ समिति को सुत्रपात भएको थियो । उपाध्यक्ष रमेश श्रीसको संयोजकत्वमा गुल्मीमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

अहिलेको समय सम्म आईपुग्दा यो समितिले हालसम्म आधा दर्जन भन्दा धेरै क्रिकेट प्रतियोगिताहरु आयोजना गरिसकेको छ । गुल्मी जिल्लामा हुने क्रिकेट खेल्नको लागि गुल्मी मात्रै नभई अर्घाखाँची, पाल्पा र रुपन्देही बाट समेत क्षेत्रीय र राष्ट्रिय खेलाडीहरु प्रतियोगिता खेल्न गुल्मी आउने गरेका छन । त्यसैले गुल्मी जिल्ला क्रिकेटमा लोकप्रिय हुँदै गईरहेको छ । गुल्मी गृह जिल्ला भएका सोमपाल कामी राष्ट्रिय टिममा ठुलो सफलताले सम्पुर्ण गुल्मी जिल्लाको क्रिकेट फ्यान र गुल्मी सरोकारवाला हरुमा अझै लोकप्रिय हुँदै गएको छ सोही लोकप्रियतालाई निरन्तरता दिदै क्रिकेट खेलको बिकास र प्रवर्द्धनको लागि आगामी कार्तिक १२ गतेबाट सदरमुकाम तम्घासमा जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।

यस प्रतियोगिताले क्रिकेटमा रुचि राख्ने र दख्खल राख्ने खेलाडीलाई प्रदेश र राष्ट्रिय स्तरसम्म सहभागीता जनाउन मद्दत मिल्नेछ । जिल्लाभित्र छरिएर रहेका क्रिकेट खेलाडीहरु लाई एकजुट बनाई उनिहरु भित्र रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने तथा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्ने बातावरणको सिर्जना गर्नु यो प्रतियोगिताको मुख्य उदेश्य रहेको छ । क्रिकेटको माध्यमबाट युवालाई जिवनयापन गर्न सक्रिय बनाउने, खेलाडीलाई हौसला र ऊर्जा सील प्रदान गर्ने, खेलाडीको स्तर उन्नति, छरिएर रहेका क्रिकेट खेलाडी बिचको सामिप्यता र सम्बन्ध तथा समग्र गुल्मी जिल्लाको स्वाभिमान लगायतका विभिन्न सबल पक्ष हरु यो प्रतियोगिताले बोकेको छ । विजयादशमी र दिपावलीको अबसरमा संचालन हुने प्रतियोगितामा करिब ५ सय खेलाडीको प्रत्यक्ष सहभागिता रहने तथा ९ दिनसम्म चल्ने प्रतियोगिता ३ हजार भन्दा धेरै दर्शकले दैनिक मनोरञ्जन लिन सक्नेछन् ।