Cricket Himalaya
Cricket News From Top of The World

‘ओयो’ पिपिएलको हस्पिटालिटी पार्टनर, रु ३२ लाखको सम्झौता !

नेपाली क्रिकेट विकास र विस्तारमा थप योगदान दिने उद्देश्यका साथ क्विन्स इभेन्ट्स प्रा. लि. ले नेपालकै एक चर्चित पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचित सुन्दर नगरी पोखरामा आगामी कात्तिक ९ देखि २० गते सम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता पोखराको रंगशाला स्थित क्रिकेट मैदानमा आयोजना गर्ने यसअघि नै घोषणा गरिसकेको छ । पिपिएलमा सहभागी हुने ६ सहरका टिम, स्वामित्व र मार्की खेलाडी घोषणा भैसकेको छ ।

यसै सन्दर्भमा पिपिएल ले “ओयो” सँग “हस्पिटालिटी पार्टनर” को रुपमा आज एक कार्यक्रम बिच सम्झौता गरेको छ । “ओयो” होटलहरुको मल्टीनेसनल हस्पिटालिटी कम्पनी हो भने दक्षिण एशियाकै सबैभन्दा ठूलो हस्पिटालिटी कम्पनी हो । ओयो र क्विन्स इभेन्ट्सबीच एक वर्षको सम्झौता भएको छ । सम्झौताअनुसार ओयोले ३२ लाख रुपैयाँ बराबरको प्रायोजन पिपिएललाई उपलब्ध गराउने छ ।

ओयोले पोखरा प्रिमियर लिगमा सहभागी सम्पूर्ण टिम र आयोजकलाई आवासीय सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ओयोको तर्फबाट कन्ट्री हेड निसिद हलानीले हस्ताक्षर गरेका थिए ।