Cricket Himalaya
Cricket News From Top of The World

पिपिएल को अक्सन असोज १४ मा, कुल १७९ खेलाडी दर्ता !

असोज १२, क्रिकेट हिमालय

क्विन्स इभेन्ट्स प्रा. लि. ले आगामी कात्तिक ९ देखि २० गतेसम्म सुन्दर पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयजना हुने पिपिएलमा सहभागी हुने ६ टिम र ६ मार्की प्लेयर रहेको छन । असोज २ गतेदेखि खेलाडी दर्ताका लागि आवेदन खुलेको थियो । एक सातासम्म खुलाइएको आवेदनमा उत्साहजनक रुपमा खेलाडीहरुको सहभागिता रहेको थियो ।

पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको थियो । तीनै श्रेणीमा गरी जम्मा १ सय ७९ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा क्याप्ड सिनियरमा ३० जना, क्याप्ड एज लेभलमा ५७ जना र अनक्याप्डमा ९२ जना खेलाडी दर्ता भएका छन् । दर्ता भएका खेलाडीको अक्सन यहि असोज १४ गते आइतबार हुनेछ । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३) टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिमबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको छ । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मुल्य पनि ५० हजार राखिएको छ भने अधितम मुल्य १ लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मुल्य ३० हजार र अधिकतम मुल्य १ लाख रुपैयाँ रखेको छ । पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ । अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ । एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई राख्नेछन् ।