Cricket Himalaya
Cricket News From Top of The World

पोखरा प्रिमियर लिग (पीपीएल) को खेलाडी दर्ता खुल्ला !

असोज ३, क्रिकेट हिमालय

क्विन्स इभेन्ट्स प्रा. लि. ले आगामी कार्तिक दोस्रो साता सुन्दर पर्यटकीय नगर पोखरामा आयोजना गर्न लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आजदेखि खेलाडी दर्ता सुरु भएको छ । पिपिएलमा खेल्न इच्छुक खेलाडीहरुले आधिकारिक वेब पोर्टल www.ppl-t20.com मा लग इन गरेर नाम दर्ता गराउन सक्नेछन् । दर्ता शूल्क १ हजार रुपैया तोकिएको छ । दर्ता शुल्क इ–सेवामार्तफ तिर्न सकिनेछ ।

पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल, अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३) टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिमबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको छ । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मुल्य (बेस प्राइस) ५० हजार रुपैया राखिएको छ भने अधिकतम मुल्य (म्याक्सिमम प्राइस) २ लाख ५० हजार रुपैया राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मुल्य पनि ५० हजार राखिएको छ भने अधिकतम मुल्य १ लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मुल्य ३० हजार र अधिकतम मुल्य १ लाख रुपैया राखेको छ ।

पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ । अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ । एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नु पर्नेछ । पिपिएलमा दर्ता गराउने खेलाडीले क्याटागोरी अनुसार न्यूनतम मुल्य बढाएर पनि मुल्य तोक्न पाउनेछन् । उदाहरणको लागि क्याप्ड सिनियरले दर्ता गराउदा आफ्नो न्यूनतम मुल्य ५० हजार भन्दा बढी राख्न पाउनेछन् । मुल्य बढाएर दर्ता गर्नका लागि हाम्रो वेभ पोर्टलमा छुट्टै अप्सनको व्यवस्था गरिएको छ । खेलाडी दर्ता आजदेखि ७ दिन भित्रमा (२५ सेप्टेम्बर देखी असोज ९ गते राती १२ बजे) गरिसक्नु पर्नेछ ।