Cricket Himalaya
Cricket News From Top of The World

लमहीमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगीता, पूर्वाधार निर्माण सुस्त !

विशाल आचार्य/दाङ

झार जंगलले मैदान ढाकिन थालेको छ । केहि क्रिकेट खेलाडिहरु यही झार जंगल बढेको मैदानमा अभ्यास गरिरहेको देखिन्छन् । मैदानको किनारमा पक्कि नाली र टेवा वाल बनाउन भर्खर काम सुरु भएको छ । आउदो मंसिर २१ गते मिसन आठौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगीता दाङको लमहीमा यहि मैदानमा हुनेछ ।

मंसिर २१ मा लमहीमा हुने आठौं राष्ट्यि महिला क्रिकेट प्रतियोगीता यहि मैदानमा हुने छ ।

तस्विरः दशरथ घिमिरे

प्रतियोगिता हुने समय नजिकएपनि मैदानमा भौतिक पूर्वाधार निर्माण सुस्त छ । राष्ट्रिय खेलकुद परिषदले प्रतियोगीतालाई आधार मानेर मैदानमा आवश्यक पर्ने सवै भौतिक पूर्वाधार निर्माण गर्ने आश्वासन दिएपनि राखेपको तर्फबाट हुनुपर्ने काम अझै सुरु भएको छैन् ।

राष्ट्रिय खेलकुद परिषदले मैदान निर्माणको लागि जम्मा १५ लाख बजेट बिनियोजन गरेको छ । यो रकम अपुग भएको र मैदानमा पूर्वाधार निर्माणमा समस्या पर्ने खेल क्षेत्रका बिज्ञहरुले बताएका छन् ।

डेढ करोड रकम माग गरेकोमा जम्मा १५ लाख बजेट बिनियोजन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बस्नेतले बताए ।

‘मिसन आठौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगीता लमहीमा हुने भएको छ । तर, मैदान निर्माण गर्न चाहिने बजेट माग गरेको भन्दा ज्यादै कम छ’बस्नेतले भने–‘हाम्रो तर्फबाट डेढ करोड रुपैयाँ माग गरेका थियौं । तर, १५ लाख मात्रै बजेट आएको छ । तर, मन्त्री र सदस्य सचिवले मैदानको अवलोकन गर्दै बजेट कम हुन नदिने आश्वासन दिनुभएको छ । आशा गरौं बजेट कम हुने छैन् ।’

यता यहि मैदानमा लमही नगरविकास समितिले मैदानको किनारमा पक्कि नाली बनाउने र टेवा वाल उठाउने काम सुरु गरेको छ । यो काम सम्पन्न गर्न ६ महिनाको समय सिमा तोकिएको छ । भाग्य लक्ष्मी निर्माण सेवाले नाली निर्माण र टेवा वाल निर्माणको काम सुरु गरेको हो । यो काम गर्न ७० लाख ३० हजार बजेट छ ।

निर्माणाधिन क्रिकेट मैदानमा राष्ट्रिय स्तरको प्रतियोगीता हुने भएपछि भने यहाँका क्रिकेट खेलाडी तथा खेल प्रेमी खुसी भएका छन् ।

‘लमहीको मैदानमा राष्ट्रिय प्रतियोगीता हुने निर्णय भएको सुन्दा ज्यादै खुसी भएका छौं । यो मैदानको बारेमा सवैलाई जानकारी दिन, खेल प्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउन, खेलाडीहरुमा उत्साह थप्न प्रतियोगीता उपयोगी सावित हुनेछ’ देउखुरी क्रिकेट क्लवका सचिव पवन शर्मा रिजालले भने– ‘पिचको काम बाँकि छ । खेलाडीहरुको चेञ्जिंग रुम, प्याराफिट, शौचालय निर्माण शौचालय निर्माण गर्न बाँकिनै छ ।’

लमहीको निर्माणाधिन क्रिकेट मैदानको निर्माणको लागि अहिले सम्म दुई करोड बढिको लगानी लागिसकेको छ । तर, मैदानमा अहिले सम्म लागेको लगानी अनुसार मैदानमा देखिनेगरी पूर्वाधार बनिसकेको छैन् ।

क्रिकेट मैदान गर्न यस बर्षको बजेट

पक्की नाली र टेवा वाल निर्माण गर्न नगर विकास समितिको ७० लाख ३० हजार (कार्यान्वयनमा), प्रदेश सरकारले साझेदारीमा ७५ लाख, लमही नगरपालिका ७५ लाख, राखेप १५ लाख रकम प्रयोजनमा आउनेछ !