Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप छनौट : नेपाल हङकङसँग पराजित, एसिया कप खेल्ने सपना तुइयो

भाद्र १९, क्रिकेट हिमालय

हङकङ सँग ९५ रन जोडे सँगै नेपालले ठुलो योगफलले पराजित गर्दै प्रतियोगिताको फाइनल पुग्ने र एसिया कप खेल्ने सपना ३ विकेटले पराजित भएसँगै सपनामै सिमित भएको छ । एसिया कप छनौट प्रतियोगिता अन्तर्गत पाँचौ तथा अन्तिम खेलमा नेपाल हङकङ सँग युकेएमएल ग्राउन्ड मलेसियामा टस जितेर पहिले ब्याटिंग गर्दै ३७.५ ओभरमै सम्पूर्ण विकेट गुमाएर अतिरिक्त १० रन सहित मात्र ९५ रन जोडेको थियो । ९६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । नेपालको लागि खेलको दोश्रो बलमै सुबास खकुरेल खाता नखोल्दै आउट भए । कप्तान पारस खड्का १४, ओपनर अनिल कुमार शाह १५, उपकप्तान ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरि २, सागर पुन ७, आरिफ शेखले १८, बसन्त रेग्मीले अविजित १५ रन र सन्दिप लामिछाने २ रन बनाए । ९५ रनमा हङकङले अतिरिक्त १० रन दिएको थियो । हङकङका बलर एहसान खानले ४ विकेट, तन्बिर अफजल र ऐजाज खानले समान २/२ विकेट लिए ।

हङकङ बिरुद्द विकेट लिएपछी खुशी हुँदै सन्दिप । फोटो : एसिसी

हङकङको लागि कप्तान अंशुमन राथले अर्धशतकिय पारी खेले । ८२ बल खेलेका रथले ३ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै किन्चित शाहले ११ रन योगदान गरे । हङकङका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन् । लिस्ट ए क्रिकेटमा सन्दिपको यो दोस्रो उत्कृष्ट प्रदर्शन हो । उनले केनया विरुद्ध गत फेब्रुअरुमा नामिबियामा भएको डिभिजन टू मा १० ओभर बलिङ गर्दा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका थिए । अनी सागर पुन र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

फाइनलमा बिहिवार हङकङ र युएई भिड्ने भएका छन । युएईले आज सम्पन्न अर्को खेलमा ओमानलाई १३ रनको अन्तरले पराजित गरेको थियो । युएई र हङकङ अंकतालिकामा क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।