Cricket Himalaya
Cricket News From Top of The World

नेदरल्याण्ड्ससँग आज ऐतिहासिक पहिलो ओडिआई खेल्दै नेपाल

श्रावण १६, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट दिउँसो नेपाली समयअनुसार २:४५ बजे नेदरल्याण्ड्सको आम्स्टलभनस्थित भिआरए मैदानमा खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ५० ओभरको खेल ५ पटक भएको छ जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । नेदरल्याण्ड्सले कूल ४ पटक ५० ओभरको वर्ल्डकप खेलिसकेको छ । पहिलोपटक ओडिआई स्ट्याटस पाएको नेपाललले सन् २०१४ मा पहिलो पटक टी-२० वर्ल्डकप खेलेको थियो । नेदरल्याण्ड्ससँग हुने नेपालको ऐतिहासिक ओडिआई क्रिकेटको दुवै खेल कान्तिपुर टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण हुने भएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाल र नेदरल्यान्ड्सबीच हुने खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने ट्वीटरमार्फत जानकारी दिएका थिए ।


भिआरए क्रिकेट ग्राउण्ड [Pic: @KNCBcricket]

नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो । गत चैतमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो । नेदरल्यान्डसले भने डब्लुसिएल च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको थियो । नेदरल्याण्ड्ससँग ओडिआई खेलेपछि नेपाल वान डे इन्टरनेशनल क्रिकेट खेल्ने २३औँ राष्ट्र बन्नेछ । अहिलेसम्म २२ राष्ट्रले ओडिआई खेलिसकेका छन् । त्यसमध्ये १२ राष्ट्रसँग टेष्ट मान्यता छ । यस्तै विश्व-११, एसिया-११ र अफ्रिका ११ सहित २६ टोलीले ओडिआई खेलेका छन र नेपाल समग्रमा ओडिआई खेल्ने २७औँ टोली बन्नेछ ।

नेपाल टुर अफ नेदरल्याण्ड्स २०१८ : ऐतिहासिक एकदिवसीय श्रृखंला
नेपाल विरुद्ध नेदरल्याण्ड्स
मिति : २०१८ अगष्ट १ र ३ बुधवार र शुक्रवार
समय : नेपाली समयअनुसार दिउसो २:२४ बजे
स्थान : भिआरए ग्राउण्ड, आम्सटलभिन, नेदरल्याण्ड्स

नेपाली टोली :
पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषावकर, सोमपाल कामी, सुवास खकुरेल

नेदरल्याण्ड्स टोली :
पिटर सिलर (कप्तान), वेस्ले बारेसी, बेन कुपर, बास डे लिड, स्कट एडवार्डस, फ्रेड क्लासेन, स्टेफन माइवर्ग, म्याक्स ओ’डोवड, हिडे ओभरजिक, माइकल रिप्पोन, शेन स्नाटर, डानिएल टेर आराक, पउल भान मिकरेन