Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रिमियर लिग पाचौ दिन : तेश्रो जित सङै रुपन्देही शीर्ष स्थानमा, मिड वेस्टर्नको दोश्रो जित !

जेष्ठ ७, क्रिकेट हिमालय

पहिलो खेल

रुस्लान कर्णाली प्रिमियर लिग प्रतियोगिताको पाँचौ दिन सम्पन्न २ वटा खेलमा रुपन्देही र मध्य-पश्चिम क्रिकेट क्लबले जित दर्ता गरेका छन् । पाँचौ दिनको खेल सम्पन्न भएपछि समुह ‘ए’ मा रुपन्देही ३ जितको साथ ६ अंक बटुली शिर्षस्थानमा रहेको छ भने समुह बिमा धनगढी क्रिकेट एकेडेमी ३ जितको साथ ६ अंक बटुली शिर्ष स्थानमा रहेको छ । सोमबार सम्पन्न पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले एबिसी स्पोर्ट्स क्लबलाई १० रनले पराजित गर्यो । टस जितेर ब्याटिंग रोजेको मध्य-पश्चीम क्रिकेट क्लबले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १३८ रनको योगफल बनाएको थियो । उसको लागि ओपनिंग ब्याट्सम्यान राजबिर सिंहले अविजित ६८ रन बनाउन ४८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुबेन्दु पाण्डेले १६ तथा अमर सिंह रौटेलाले १५ रन योगदान दिए । एबिसीका बलर अरुण ऐरिले २ तथा सुनिल मिश्रा र दिनेश पुनले १/१ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा एबिसीले १५ ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो । ओपनर आयुष्मान बमले सर्वाधिक ३२ रन, सागर भण्डारीले २३ तथा रोशन अधिकारीले १६ रन बनाए पनि जितको लागि पर्याप्त भएन । मध्य-पश्चिमका अविनाश बोहराले २ विकेट तथा भीम धमला, अमर सिंह रौटेला, दिपेन्द्र रावत र अजय सहानीले समान १/१ विकेट हात पारे ।

खेलको प्लेयर अफ द म्याच राजबिर सिंह घोषित भए ।

दोश्रो खेल

आजै सम्पन्न दोश्रो खेलमा रुपन्देही ११ ले टिकापुर क्रिकेट क्लबलाई ६१ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रनको योगफल तयार गरेको थियो । रुपन्देहीको लागि सौरभ खनालले सर्वाधिक ३३ रन बनाएका थिए जुन क्रममा १५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै शक्ति गौचनले २६ रन, बिक्रम भुसालले अविजित १८ रन तथा कृष्ण कार्कीले अविजित १६ रन बनाए । टिकापुर बलर अमर रावलले सर्वाधिक ३ विकेट हात पारे । १६६ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १७.६ ओभरमा १०४ रन मात्रै बनाउन सक्यो । उसको लागि राजन शेरचनले सर्वाधिक २१ रन बनाए । बलिंगतर्फ बिकाश श्रेष्ठ र शक्ति गौचनले ३/३ विकेट तथा कृष्ण कार्कीले २ विकेट हात पारे ।

खेलको म्यान अफ द म्याच शक्ति गौचन घोषित भए ।