Cricket Himalaya
Cricket News From Top of The World

कास्की क्रिकेट लिग : माछापुच्छ्रे क्रिकेट क्लब फाइनलमा प्रबेस !

जेष्ठ २, क्रिकेट हिमालय

कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजनमा सञ्चालित राउण्ड रोविन क्रिकेट लिग अन्तर्गत बुधबार माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीलाई ९५ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । माछापुच्छ्रे ले चार खेलमा तीन जित र एक हारसँगै ६ अंक जोड्दै फाईनलको ढोका खोल्यो । टस जितेर व्याटिङमा उत्रिएको माछापुच्छ्रेलाई ४० ओभरको खेलमा ३४.२ ओभरमा अलआउट हुदै १५८ रनको स्कोर बनायो । ओपनर दिपेश खत्रीले ३४ रनको इनिङ खेले । मनोज कोईरालाले ३३ र अमृत गुरुङले ३२ बनाए । एकेडेमीका कप्तान ऋषिकेश शर्माले ८ ओभर बलिङ गर्दै ३० रन दिएर ५ विकेट लिए । प्रेम गुरुङले पनि ६.२ ओभरमा २५ रन दिएर ३ विकेट लिन सफल भए । १५९ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीले ईशान श्रेष्ठको सर्वाधिक ११ रनको योगदानमा ६३ रनमा समेटियो । रोशन न्यौपानेले ९ र प्रेम गुरुङले ८ रन मात्रै जोडे । माछापुच्छ्रेका कृष्ण बास्तोलाले ५ ओभरमा १३ रन दिदैं ४ विकेट लिए । अनुप श्रेष्ठले पनि ४ ओभरमा ६ रन दिदैं २ विकेट लिन सफल भए । बास्तोला म्यान अफ दि म्याच घोषित भए । उनलाई सेवा हस्पिटल प्रालि पोखराका प्रवन्ध निर्देशक डा. पदमबहादुर खड्काले ट्रफी हस्तान्तरण गरे । अन्तिम लिग खेल बिहीबार पोखरा क्रिकेट क्लब र अरुण ज्योति क्रिकेट क्लब बीच हुनेछ । पोखरा क्रिकेट क्लबले जित निकालेको अवस्थामा फाईनल सुरक्षित गर्ने छ । अरुण ज्योतिले जित निकाले ४ अंक हुने छ र सांग्रिला क्रिकेट क्लबसँग रनरेटको आधारमा फाईनल पुग्ने टिमको छिनोफनो हुनेछ ।