Cricket Himalaya
Cricket News From Top of The World

कास्की क्रिकेट लिग पाचौ दिन : पोखरा क्रिकेट क्लब बिजयी !

कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको संरक्षकत्वमा आयोजित प्रतियोगितामा पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ५० रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भईरहेको ओम डेभलपमेन्ट बैंक के.सि.एलमा बुधबार टस जितेर पहिलो इनिङ शुरु गरेको पोखरा क्रिकेट क्लबले २४.५ ओभर खेल्दै १४० रनको योगफल तयार पार्‍यो । आकाश थापाले ४४ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा ३७ रन बनाए । कप्तान अनिल गुरुङले व्यक्तिगत २३ रनमा पेभिलियन फर्किएपछि इनिङलाई सुमन घिमिरेले सम्हाले तर उनी पनि २ चौका र एक छक्का हान्दै ३९ बल खेलेर ३७ रनमै आउट भए । गोविन्द प्रधानले १९ र साहिल कार्कीको खातामा १२ रन लेखियो । सांग्रिला क्रिकेट क्लबका मेघबहादुर सेनले महत्वपूर्ण ५ विकेट लिन २९ रन खर्चिए । आठ ओभर बलिङ गरे । शिव सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर ३ विकेट लिदैं सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन । कप्तान विपिन खत्रीले २९ रन खर्चिएर २ विकेट लिए । १४१ रनको मध्यमस्कोरको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब भने ९० रनमै समेटियो । मिलन थापाले ५४ बल खेल्दै २३ रन मात्रै खेलेर आउट हुँदा जय शर्माले १३ रनको योगदान मात्रै दिए । अन्य ब्याट्स्म्यानको ब्याटबाट दोहोरो अंकको रन बुटल्न सकेनन । पोखरा क्रिकेट क्लबका बलर विजय राउतले ६ विकेट लिए । उनी खेलको पोखरा राईनोज म्यान अफ दि म्याच घोषित हुदैं ट्रफी प्राप्त गरे ।


शुक्रबार अरण्ययोति क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसँग खेल्ने छ ।