Cricket Himalaya
Cricket News From Top of The World

डि पि एल चौथो दिन : टिम चौरहा धनगढी ८ विकेटले बिजयी !!

चैत्र २०, क्रिकेट हिमालय

रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत बुधबार भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ। महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो।

धनगढीका लागि सुनिल धमलाले सर्वाधिक नटआउट ४६ रनको पारी खेले। ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे। यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे। ३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे। यस्ता अर्का यूएईकै खेला८ी अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे। सो क्रममा उनले ६ चौका प्रहार गरेका थिए। सोनु तामाङ १५ रनमा नटआउट रहे।

जितसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ४० बल खेल्दै २ छक्का र १ चौकाको मदमा ३२ रन जोडे।

यस्तै उसका पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले १–१ विकेट लिए।