Cricket Himalaya
Cricket News From Top of The World

अर्को वर्ष देखि डिपिएल र इपीएल नहोस् !!

चैत्र १८, क्रिकेट हिमालय

सौरभ आचार्य

क्रिकेटको राम्रो सम्भवना भएको देश नेपालको दुई ठुला घरेलु प्रतियोगिता हुन् डिपिएल (धनगडि प्रीमियर लिग) र इपीएल (एभरेस्ट प्रीमियर लीग) । पहिलो संस्करणमा दुबैले नेपाली खेलाडीहरुलाई मात्र सहभागी गराएको भएतापनि दोश्रो संस्करणमा भने दुबैले विदेशी खेलाडिहरुपनि भित्राए । घरेलु दर्शकका लागि मात्र नभई विदेशी खेलाडि र दर्शकहरूकोलागि पनि डिपिएल र इपीएल आकर्षणको केन्द्र देखिएको छन् । नेपाली दर्शकलाई घरेलु क्रिकेट हेर्न मैदान सम्म डोर्याएका इपीएल र डीपीएललाई नेपाली क्रिकेट इतिहासको सर्वाधिक सफल प्रतियोगिताको रुपमा हेर्न सकिन्छ । गत इपीएलको फाइनलमा दर्शकको उपस्थिति हेर्ने हो भने इपीएल दर्शकको रोजाईमा परिसकेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ भने डिपिएलले पनि स्थानीय दर्शकलाई मैदान सम्म लैजाने निश्चित छ ।

डीपीएल र इपीएलको सफलता मनोरन्जन र व्यवसायिक रुपमा मात्र सीमित नभई नेपाली क्रिकेटको विकासमा पनि आवश्यक छ । डिपिएल र इपीएल दुबै टि ट्वेन्टी फर्माटका प्रतियोगिताहरु हुन् । टि ट्वेन्टी फर्माटको क्रिकेटले देशको क्रिकेट विकासलाई भन्दापनि क्रिकेटप्रेमीहरुलाई मनोरन्जनको लागि धेरै सहयोग गर्छ । टि ट्वेन्टी क्रिकेटलाई विश्वसमुदायले पनि विशुद्ध मनोरन्जनको क्रिकेटको रुपमा लिने गरेको छ । त्यसैले निकै कम मात्रामा घरेलु संरचनाको क्रिकेट भएको भएतापनि नेपाललाई डिपिएल र इपीएल दुई ठुला क्रिकेट त्योपनि मनोरन्जनको फर्माट अर्थात टि ट्वेन्टी फर्माटको आवश्यकता भने छैन । त्यसैले मलाई लाग्छ अर्को वर्ष देखि डीपीएल र इपीएल दुबै प्रतियोगिताहरु नहुन् ।

हुन त डिपिएल र इपिएलजस्तो दुई ठुलो प्रतियोगिता र दुई ठुला दर्शकका आकर्षण रहेको क्रिकेट प्रतियोगिताहरु नहुन् भनिरहदा पक्कैपनि किन ? भन्ने प्रश्न आवश्यक नै छ । नेपालमा यस्ता ठुला क्रिकेट प्रतियोगिताहरु नै नहुन् भन्ने मेरो आशय होइन । तर विदेशि खेलाडी सहित प्रतियोगिता गराउन अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को अनुमति र मान्यता आवश्यक रहन्छ । र यसको लागि आयोजकले ठुलो रकम आइसीसीलाई बुझाउनुपर्ने हुन्छ । दुई ठुला प्रतियोगिताको लागि दुई दुई पटक नेपालले एकै खालको प्रतियोगिताको लागि आइसीसीलाई रकम बुझाइरहनु हाम्रो जस्तो देशको लागि केहि घाटाकै कुरा हो । दुई भिन्न आयोजक (इपिएल र डिपिएल) का आयोजकहरु मिल्ने र नेपालमा दुबैको लगानिमा अझ ठुलो क्रिकेट प्रतियोगिता गर्ने हो भने त्यसले नेपाली क्रिकेटलाई ठुलो सहयोग गर्नुका साथै विश्वस्तरमा पनि आफ्नो पहिचान बनाउन सक्छ ।

विश्वमा अहिले टि ट्वेन्टी फर्माटको क्रिकेटको कुरा गर्दा सबैभन्दा पहिले भारतको “इण्डियन प्रीमियर लीग” (आईपीएल) को नाम सबै भन्दा अगाडि आउछ भने त्यसपछि अस्ट्रेलियाको “बिग ब्यास लिग” र विंडीज क्रिकेट बोर्डको “क्यारेबियन प्रिमयर लीग” को चर्चा हुने गर्दछ । यि तिन ठुला प्रतियोगिता सर्वाधिक चर्चित प्रतियोगिताहरुपनि हुन् जसमा टेस्ट राष्ट्रका धेरै खेलाडीहरुले खेल्ने गरेकाछन् । टेस्ट राष्ट्रहरूको आयोजनामा हुने यिन र यस्ता चर्चित लिगहरुमा एसोसिएट राष्ट्रका खेलाडीहरूको खेल्ने सपना भने सपनामा मात्र सिमित रहेको हुन्छ । एसोसिएट राष्ट्रका खेलाडीहरुले निकै कम मात्रामा मात्र यस्तो प्रतियोगिताहरुमा खेल्ने अवसर पाउने भएकोले विकल्पमा अर्को कुनै ठुलो प्रतियोगिता आएमा उक्त प्रतियोगिता एसोसिएट राष्ट्रका खेलाडीहरूको रोजाईमा पर्ने प्राय निश्चित नै छ । त्यसैले मलाई लाग्छ नेपालले एसोसिएट राष्ट्रहरूको लागि एउटा ठुलो र आकर्षक क्रिकेट प्रतियोगिताको विकल्प दिन सक्छ र प्रयास गरेको खण्डमा टेस्ट राष्ट्रका खेलाडिको लागि आईपीएल जस्तै एसोसिएट राष्ट्रका खेलाडिहरुलाई नेपालको प्रतियोगिता हुनेमा कुनै दुईमत छैन ।

क्रिकेट प्रतियोगिता सफल र चर्चित हुनलाई दर्शकको सबैभन्दा महत्वपूर्ण भूमिका रहने गर्छ । नेपाली दर्शकहरूको मनोविज्ञान बुझ्ने हो भने नेपालले ठुलो प्रतियोगिता आयोजना गरेको खण्डमा आयोजकले अथवा भनौ नेपालले दर्शकको अभाव कहिल्यै भोग्नुनपर्ने निश्चित छ भने अर्को तर्फ ठुलो प्रतियोगिताको आयोजनाले विदेशीहरुलाई पनि नेपाल भ्रमणको लागि तानिरहेको हुन्छ जसले राष्ट्रलाई पनि फाइदा पुर्याउनेछ । अत्याधिक दर्शकको अगाडि क्रिकेट खेल्ने एसोसिएट राष्ट्रको खेलाडीहरूको सपना नै हुनेगर्दछ र त्यो नेपालमा सम्भव छ भन्ने सबै एसोसिएट राष्ट्रका खेलाडीहरुलाई समेत थाहा छ । जसको प्रत्यक्ष झल्को नेपालको एकदिवशिय मान्यता सँगै एसोसिएट राष्ट्रका खेलाडीहरुले दिएको बधाई र नेपालमा खेल्ने चाहना रहेको भनाइ बाट प्रष्ट हुन्छ । त्यसैले नेपालले एसोसिएट राष्ट्रको खेलाडीहेरुलाई समावेश गरि एउटा ठुलो र आईपीएलको विकल्पको प्रतियोगिता दिन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

एउटा ठुलो प्रतियोगिताको लागि ठुलो लगानी आवश्यक पर्छ नै । त्यसैले हालको इपिएल र डिपिएललाई एक बनाएर अघि बढ्ने हो भने आयोजनाको लागि आवश्यक खर्च सजिलै पुर्याउन सकिन्छ कि ? हाल दुबै प्रतियोगितामा ६/६ टिमको सहभागिता रहने गरेको छ जसलाई ८ बनाएर एउटा ठुलो प्रतियोगिता गराए त्यसले अझ राम्रो र ठुलो प्रतियोगिता दिन सक्छ भन्नेमा कुनै संका रहने छैन । अर्को तर्फ टिमको बजेटपनि व्रिद्धि गरिनुपर्छ र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई टिम किन्न अवसर दिएर ठुलो लगानी नेपाली क्रिकेटमा भित्राउन पर्छ । नेपाली दर्शकको क्रेज र नेपालमा प्रतियोगिता सफल हुने ठुलो सम्भवना भएकोले विदेशी लगानीकर्ताहरुले नेपालको उक्त प्रकारको क्रिकेटमा लगानी गर्ने प्रायः निश्चित नै छ । यसरी गर्दा धेरै भन्दा धेरै विदेशी खेलाडि नेपाली प्रतियोगितामा भित्राउन सकिन्छ ।

प्रतियोगितामा नेपालले भारतको आईपीएलमा जस्तै नियमहरु बनाउन सक्छ जसमा एउटा खेलमा एउटा टिमले बढीमा ४ विदेशी खेलाडि र अनिवार्य एक नेपाली अनक्याप्ड खेलाडी खेलाउन सक्नेछ जसले गर्दा नया नेपाली खेलाडीहरूको व्रिद्धि विकास पनि हुनेछ भने नेपाली क्रिकेटले पनि आफ्नो स्तरमा ठुलो सुधार गर्दै विश्वमा आफ्नो बेग्लै पहिचान बनाउन सक्नेछ । दर्शकको क्रेज र भावना बुझि ठुलो मात्रामा स्वदेशी तथा विदेशी लगानी भित्राएर डिपिएल र इपिएल आयोजकले संयुक्तरुपमा काम गर्ने र नेपाली क्रिकेटमा एउटा ठुलो प्रतियोगिता आयोजना गर्न तर्फ सोच्ने हो भने नेपालले एसोसिएट क्रिकेटमा आईपीएलको विकल्प दिन सक्नेछ । त्यसैले आगामी वर्ष नेपालमा एउटा ठुलो प्रतियोगिताको आयोजना होस् अर्थात अर्को वर्ष देखि डिपिएल र इपिएल नहोस् ।