Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगमा आज शंकरनगर क्रिकेट क्लब विजयी !

भैरहवा, २० फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’ को समूह (ए) को खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ६१ रनले पराजित गरेको छ ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय १० रनको योगफल तयार गरेको थियो । उसका लागि अजय कौशिलाले ३७, धिरज शाहीले २० र देव खनालले २८ रनको योगदान दिए । बलिङमा ज्ञनोदयका जितेन्द्र शाहनीले ३ तथा सन्तोष क्षेत्रीले २ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ११ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको ज्ञानोदयले ३४ ओभरमा सबै विकेट गुमाई जम्मा १ सय ४९ रन मात्रै बनाउन सक्यो । उसका लागि मनिष पौडेलले सर्वाधिक ७१ रन बनाए पनि जितका लागि प्रा¥याप्त भएन । यस्तै निशान्त शर्माले २३ रन बनाए । बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका शंकरनगरका धिरज शाहीले ७ विकेट लिए । यस्तै अनिल खरेल र सुदन श्रेष्ठले समान १÷१ विकेट लिए ।

सोमबार समूह (बि) मा रहेका देवदह क्रिकेट युनिट देवदह र साइ ग्लोबल क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।