Cricket Himalaya
Cricket News From Top of The World

लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनलमा !

भैरहवा, १९ फागुन ।

लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’ को समूह (डि) को खेलमा खुकुरीले बुम एमसिसी क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गरी सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एक सय ४ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमा १ विकेटको क्षतिमा १ सय ४ रन बनाउँदै लक्ष्य भेट्टायो । उसको जितमा प्रज्वल थापाले नटआउट ३३, अन्तिम थापाले नटआउट २७ र मिर्नाल गुरुङले २४ रन बनाए । बलिङमा बुम एमसिसीका रमेश कुर्मीले १ विकेट लिए ।

यसअघि स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित खेलमा ३३ ओभर ४ बल खेल्दै १ सय ३ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि संदीप केसीले २३, अमर मिश्राले १६ र अनिल जैसवारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा टिमले हार व्यहो¥यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका खुकुरीका साहव आलमले ५ विकेट लिए । यस्तै राहुल चौहानले ३ विकेट लिए ।


आइतबार समूह (ए) मा रहेका ज्ञानोदय क्रिकेट क्लब करहिया र शंकरनगर क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।


प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।