Cricket Himalaya
Cricket News From Top of The World

“नेपाललाई एकदिवशिय मान्यता : अवसर र चुनौती”

चैत्र १४, क्रिकेट हिमालय

सौरभ आचार्य

नेपालले क्रिकेट जीवनको लामो यात्रा गर्ने क्रममा विश्वकप २०१९ को क्वालीफायर खेल्दै र उक्त क्वालीफायरमा आवश्यक मात्राको न्यूनतम खेल जित्दै हालै मात्र एकदिवशिय मान्यता पाउन सफल भएको छ । स्थापनाकाल देखिका खेलाडि र प्रशाशक अनि समर्थकको ठुलो सपना पूरा गर्न नेपाललाई निकै लामो समय लाग्यो । सम्पूर्ण खेलाडी, तत्कालीन र वर्तमान प्रशाशक र महत्वपूर्ण र अभिन्न अंग फ्यान्सको समर्थन र प्रयास बिना आजको एकदिवशिय मान्यताको सफलता प्राप्त गर्न सम्भव थिएन । हालै मात्र एकदिवशिय मान्यता पाएको नेपाल सँग आगामी दिनको लागि थुप्रै अवसरहरुपनि रहेकाछन् भने त्यो भन्दा धेरै चुनौती नेपाली क्रिकेट सँग छ ।

ढिलैभएपनि प्राप्त एकदिवशिय मान्यताले नेपाली क्रिकेटको लागि धेरै अवसरको ढोकाहरु खोलिदिएको छ । अन्तराष्ट्रिय एकदिवशिय क्रिकेटको लागि कान्छो रास्ट्र भएको नेपाल अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ । हरेक घरपरिवारमा कान्छो सदस्यले पाउने जस्तै माया नेपालले पनि पाउने निश्चित छ । विश्वका ठुला ठुला टेस्ट राष्ट्रहरुबाट आइरहेको बधाई सन्देश र नेपाली फ्यान्सको लागि दिरहेको अनेक सन्देशहरु हेर्दा नेपाली क्रिकेटलाई सबैले आवश्यक सहयोग गर्छन् कि भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

नेपालले एकदिवशिय मान्यता पाए लगत्तै एसोसिएट तर्फका खेलाडीहरुले नेपाल आएर एकदिवशिय खेल खेल्ने चाहना व्यक्त गर्न थालिसकेकाछन् । लोभलाग्दो दर्शकको अगाडि क्रिकेट खेल्ने रहर पुरा गर्नैको लागि एसोसिएट मुलुकका खेलाडीहरु नेपाल सँग खेल्ने तिब्र अपेक्षा र चाहनामा सधै हुन्छन् त्यसैले एकदिवशिय मान्यता पाएको नेपालले निरन्तर एकदिवशिय खेल खेलिरहन मैदानको स्तर बाहेक अरु कुनै समस्या छैन ।

त्यस्तै नेपाल दक्षिण एशियाको पछिल्लो एकदिवशिय क्रिकेट खेल्ने राष्ट्र बनेको छ जसको छिमेकी मुलुक भारत विश्वक्रिकेटको ठुलो हिस्सा हो । भारत विनाको विश्वक्रिकेट कल्पना गर्न पनि सकिदैन त्यसैले भारतलाई छिमेकीको रुपमा पाउनु नेपाली क्रिकेटको लागि अर्को सुखद पक्षपनि हुनसक्छ । विश्वका अन्य ठुला क्रिकेट राष्ट्रहरु समय समयको अन्तरालमा भारतसँगको सिरिजको लागि भारत आइरहेका हुन्छन् । भारत आएका अधिकांस अन्य टिमहरुले भारतीय भूमिमा लगातार पराजय भोगिरहेका नै हुन्छन् । त्यसको एउटा कारण भारतिय स्पिनरहरूको राम्रो प्रदर्शनपनि हो । सीरीज खेल्न भारत आउने टिमहरुले भारतमा केहि अभ्यास त गर्छन् तर त्यसले मात्र उनीहरुलाई सहयोग गरिरहेको हुदैन । एक वा दुई भन्दा बढी अभ्यास खेलहरुमा भारतिय क्रिकेट बोर्डले आफ्ना उत्कृष्ट खेलाडीहरुलाई अवसर कहिल्यै दिदैन जसको कारण भ्रमणमा रहेको टोलीले पनि राम्रो अवसर पाएको हुदैन । तर अब एकदिवशिय मान्यता पाएको नेपालले छिमेकी भारत भएकोमा फाइदा लिनसक्ने र लिनैपर्ने एउटा महत्वपूर्ण ठाउँ यही नै हो । भारत भ्रमणमा रहेको अन्य ठुला विदेशी राष्ट्रहरु सँग अनुरोध गरे नेपाललाई देखाईएको माया र उनीहरुकै हितको लागिपनि ठुला भनिने विदेशी राष्ट्रहरु नेपाल सँग खेल्न तयार रहन सक्छन् । तर त्यसको लागि नेपालले पनि आफ्नो प्रदर्शनको स्तर केहि माथि उठाउनु नै पर्छ । भारत छिमेकी राष्ट्र भएको फाइदा नेपालले जुन ढङ्गले पाउनसक्छ त्यो अरु कुनै एसोसिएट राष्ट्रले कहिले पाउनै सकेनन् र पाएनन् पनि । यसर्थमा नेपाल सँग अवसरको ठुलो खानी रहेको छ जसमा आफुलाई प्रमाणित गर्न सके नेपाली क्रिकेट अबको चार वर्षमा कसैले नसोचेको उचाईमा पुग्न सक्षम हुनसक्छ ।

तर अवसर भन्दा धेरै नेपाली क्रिकेट सँग चुनौती रहेको छ । विगतको केहि समय देखि निलम्बनमा रहेको नेपाली क्रिकेट निकायको भविष्य के होला भनेर फैशला गर्दैगर्दा नेपाल सँगै क्रिकेटमा बामे सरेको अफगानिस्तान भने विश्वनम्बर एक भारत सँग टेस्ट खेलिरहेको हुनेछ । सँगैको साथीले टेस्ट खेल्दै गर्दा हाम्रो देशमा भने अन्तराष्ट्रिय क्रिकेट परिषदले हामीलाई निलम्बन नगरोस् भनि प्राथना चलिरहेको हुनेछ । नेपालको लागि अहिले सबै भन्दा ठुलो चुनौती भनेकै अन्तराष्ट्रिय क्रिकेट बाट निलम्बनमा नपर्नु मात्र हो । नेपाललाई निलम्बनको अवस्थामा सम्म पुर्याउने क्रिकेट प्रशाशकहरु जिम्मेवार नबन्ने हो भने अवसरको खानि रहेको र अवसर नै अवसरले घेरिएको नेपाली क्रिकेटले भने क्रिकेट खेल्न नै नपाउने खतरा बढेर गएको छ । नेपाली प्रशाशकहरु जिम्मेवार बनेनन् र आफ्नो हितमा अल्मलिएर राष्ट्रको हित बिर्सीएभने विश्वले पनि नेपाली क्रिकेट थियो भनि बिर्सन्न धेरै समय लगाउने छैन । त्यसैले नेपाली क्रिकेटका प्रशाशक भनिएकाहरुले जिम्मेवारी देखाउदै आफुलाई प्रमाणित गर्ने यो भन्दा ठुलो अर्को अवसर पाउने छैनन् पनि र अहिले नै प्रमाणित गर्नुको अर्को विकल्प प्रशासकहरु सँग छैन पनि ।

अर्कोतर्फ एकदिवशिय क्रिकेट खेल्ने मैदानको अभाव नेपाली क्रिकेटको अर्को चुनौतीको रुपमा उभिएको छ । प्रसस्त मात्रामा मैदान नहुनु नेपाली क्रिकेटको एउटा समस्या हो भने भएकै मैदानपनि स्तरीय नहुनु नेपाली क्रिकेटको अर्को ठुलो समस्या हो । त्यसैले तत्काल नेपालमा भएका क्रिकेट मैदानको स्तरोन्नति गर्न नसक्ने हो भने नेपाल आएर खेल्ने एसोसिएट चाहना विस्तारै घट्दै जानेछ र नेपाल फेरी को सँग खेल्ने भन्ने अवस्थामा पुग्नेछ । मैदानको सबै क्षेत्रको स्तरोन्नति देखी मैदानमा दर्शकको व्यवस्थापनि कसरी गर्ने भन्नेमा अहिले नै क्रिकेट निकाय र नेपाल सरकारले ध्यान नपुर्याउने हो भने नेपालमा अन्तराष्ट्रिय एकदिवशिय खेलहरु संचालन हुनै गारो रहनेछ ।

त्यस्तै विगत लामो समयदेखी रोकिएको घरेलु प्रतियोगिताहरुपनि नेपालको अर्को चुनौतीको विषय बन्ने निश्चित छ । कुनैपनि देशको क्रिकेट बलियो हुन त्यस देशको घरेलु क्रिकेट बलियो हुनपर्छ । तर हाल नेपालमा घरेलु क्रिकेट भनेकै निजी क्षेत्रबाट संचालित टि ट्वेन्टी फ्रेन्चाइज क्रिकेट मात्र हो । टि ट्वेन्टी क्रिकेट आफैमा नराम्रो त होइन तर यसैको मात्र ज्यादा मोहपनि राम्रो होइन भनेर हामीले विश्वक्रिकेटमा वेस्टइंडीजको स्थान र अवस्था हेरेर भन्न सक्छौ । घरेलु एकदिवशिय र मल्टीडे क्रिकेट बिना नया खेलाडीहरूको उत्पादन र खेलाडीहरूको प्रतिभा पहिचान सम्भव छैन । त्यसैले नेपालले तत्काल घरेलु क्रिकेटमा ठुलो लगानी गर्दै घरेलु संरचनामा व्यापक परिवर्तन गर्न आवश्यक छ । त्यस्तै घरेलु क्रिकेटको लागि बलियो हतियार भनेकै स्कुल क्रिकेट हो । स्थानीय निकाय, प्रदेश सरकार र नेपाल सरकारको प्रथमिकतामा स्कुल क्रिकेट परेको दिन नेपालको घरेलु क्रिकेट बलियो हुनेछ र घरेलु क्रिकेट बलियो भएको देशको समग्र क्रिकेट कति स्तरीय हुनेछ भन्ने जान्न हामीले छिमेकी भारतमा नै हेरे पुग्छ ।

तर माथि चर्चा गरिएको सबै अवसरको सदुपयोग गर्न र चुनौतीको सामना गर्दै चुनौती पन्साएर नेपाली क्रिकेटलाई अवसरको मार्गमा डोर्याउन नेपाल सँग एउटा बलियो क्रिकेट निकाय हुन आवश्यक छ । फ्यान्स देखी अन्तराष्ट्रिय क्रिकेट बोर्डहरु सँगपनि सुमधुर सम्बन्ध बनाउन सक्ने र नया ढंग बाट आजको विश्वक्रिकेटमा स्थापित हुने चाहना राख्ने प्रशासकहरूको उपस्थिति बिना नेपाली क्रिकेटले पाएको एउटा ठुलो अवसर गुमाउन पर्ने हुन सक्छ ।