Cricket Himalaya
Cricket News From Top of The World

शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेटमा ज्ञानोदय र शिवशक्ति क्रिकेट क्लब विजयी !!

भैरहवा, २ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएका दुई खेलमा ज्ञानोदय क्रिकेट क्लब करहिया र शिवशक्ति क्रिकेट क्बल भैरहवा विजयी भएका छन् ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा ज्ञानोदयले बुम एमसिसी क्रिकेट क्लब भैरहवामाथि ३ विकेटको जित निकाल्यो । जितका लागि बुमबाट १०७ रनको लक्ष्य पाएको ज्ञानोदयले ७ विकेटको क्षतिमा १०७ रन बनायो । उसका लागि मनिष पौडेलले ३४ र ऋतिक पुनले १९ रन बनाए । बलिङमा बुमका अजय लोनिया र बादल छन्त्यालले समान २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बुमले ५ विकेटको क्षतिमा १०६ रनको योगफल बनाएको थियो । उसका लागि बादल छन्त्यालले ४५, राहुल शर्माले २४, मन्जुल न्यौपानेले नटआउट २२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा ज्ञानोदयका निशान शर्माले २ तथा जितेन्द्र शाहनी र निशान्त पुरीले समान १÷१ विकेट लिए । खेलमा ज्ञानोदयका मनिष पौडेल म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा शविशक्तिले बुद्ध क्रिकेट क्लब भैरहवामाथि ३ रनको रोमांचक जित निकाल्यो । टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले ८ विकेटको क्षतिमा १२५ रन बनायो । उसका लागि कृष्ण कार्कीले ४३, यम क्षेत्रीले नटआउट २४ तथा अनिल क्षेत्रीले २१ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ३ तथा रिजन प्रजूले २ विकेट लिए । प्रउित्तरमा बुद्धले ७ विकेटको क्षतिमा १२२ रन मात्रै बनाउन सक्यो । जसमा जमाल अहम्मदले २२, रिजन प्रजूले २४, संदीप शाहनी र रुपेश कुर्मीले २०÷२० रन बनाए पनि जित निकाल्न सकेनन् । बलिङमा शिवशक्तिका कृष्ण कार्की, विष्णु कटरिया र मनोज सुनारले समान २÷२ विकेट लिए । कृष्ण कार्की म्यान अफ द म्याच समेत घोषित भए ।

शनिबार पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवाबीच हुने छ भने दोस्रो खेल शंकरनगर क्रिकेट क्लब शंकरनगर तथा शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच हुने खेल संयोजक बसन्त शाहीले बताए ।

प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।