Cricket Himalaya
Cricket News From Top of The World

लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा !

भैरहवा, २५ फागुन ।

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनलको अन्तिम खेलमा खुकुरीले देवदह क्रिकेट युनिट देवदहलाई १० विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेसँगै यी दुईबीच फाइनलमा प्रतिस्पर्धा हुने पक्का भएको हो ।

जितका लागि देवदहबाट १ सय ७ रनको लक्ष्य पाएको खुकुरीले ११ ओभर ३ बलमा विना विकेटको क्षति १ सय ८ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि शंकर रानालो सर्वाधिक नटआउट ८१ तथा प्रज्वल थापाले नटआउट १६ रनको योगदान दिए ।

यसअघि स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २९ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय ६ रनको समान्य योगफल तयार गरेको थियो । उसका लागि रोशन गौतमले २२, अर्जुन रायमाझीले १६ तथा सुरज दरईले १५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा म्यान अफ द म्याच समेत रहेका खुकुरीका लालबहादुर अधिकारीले ५ विकेट लिए । यस्तै साहव आलमले ३ विकेट लिए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिताको फाइनल खेल फागुन २६ हुने छ ।