Cricket Himalaya
Cricket News From Top of The World

शिवशक्ति क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा !

भैरहवा, २४ फागुन ।

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ६९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

उसले अब शुक्रबार लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदहबीच हुने खेलबाट विजयी टिमसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ३ बलमा सबै विकेट गुमाई १ सय ५० रनको योगफल तयार गरेको थियो । उसका लागि प्रथम पराजुलीले ३९, कृष्ण कार्कीले २९ र अमर रौतेलले २२ रनको योगदान दिए । बलिङमा न्यू होराइजनका शुसान भारीले ३ तथा विपिन खत्री र गणेश गौडेलले समान २/२ विकेट लिए ।

प्रतिउत्तरमा फाइनल प्रवेशका लागि १ सय ५१ रनको लक्ष्य पाएको न्यू होराइजनले २८ ओभर २ बलमा सबै विकेट गुमाई ८१ रनमै समेटियो । उसका लागि नूरध्वज सेनले ३८ र विपिन खत्रीले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न नसक्दा टिम निराश भयो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा म्यान अफ द म्याच समेत रहेका शिवशक्तिका हरजित सिंहले ४ विकेट लिए भने अमर लिम्बुले ३ विकेट लिए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।