Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगमा आज बुम एमसिसी विजयी, बुद्ध क्रिकेट क्लब डिभिजन ‘बि’ मा घटुवा !

भैरहवा, २३ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको लिग चरण अन्तर्गतको अन्तिम खेलमा बुम एमसिसी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालई ५० रनले पराजित गरेको छ ।

जितसँगै सेमिफाइनल खेल्न नपाए पनि बुम एमसिसी ‘ए’ डिभिजनमा यथावत रहेको छ भने हारसँगै बुद्ध रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । उसका लागि दुर्गेश गुप्ताले ८३, अमर मिश्रा र संदीप केसीले समान २७/२७ तथा सुशान थापाले २४ रन बनाए । बलिङमा बुद्धका रिजन परजुले ३ तथा प्रवेज अन्सारीले २ विकेट लिए ।
#प्रतिउत्तरमा २ सय ५६ रनको लक्ष्य पाएको बुद्धले ४३ ओभरमा सबै विकेट गुमाई २ सय ५ रन मात्र बनायो । उसका लागि रिजन पराजुले ४८, विधान श्रेष्ठले २७ र उदयकुमार मल्लिकले २१ रन बनाए पनि जितका लागि प¥याप्त भएन । बलिङमा बुम एमसिसीका अभिषेक गौतमले ४, रमेश कुर्मीले ३ तथा म्यान अफ द म्याच समेत रहेका दुर्गेश गुप्ताले २ विकेट लिए ।

बिहीबार सेमिफाइनलमा शिवशक्ति क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।