Cricket Himalaya
Cricket News From Top of The World

डिपिएल र जगदम्बा इन्टर्प्राइजेज बिच सम्झौता, रु १० लाखको प्रायोजन !

आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)२ लाई जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टीएमटी बारले प्रायोजन सहयोग गर्ने भएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमी(डीसीए) का अध्यक्ष सुवास शाही र जगदम्बा ईन्टरप्राइजेजका सिनियर जनरल म्यानेजर जगतराज ढुंगानाले मंगलबार आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम जगदम्बाले आयोजक डीसीएलाई सहप्रायोजन वापत् १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। गतवर्ष भएको डीपीएलको पहिलो संस्करणमा पनि जगशक्ति सहप्रायोजकका रुपमा रहेको थियो।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै जगदम्बाका सिनियर जनरल म्यानेजर ढुंगानाले डीपीएलले नेपाली क्रिकेटमा व्यवसायिकता भित्र्याएको भन्दै व्यवसायिक प्रतियोगिताबाट मात्रै खेलाडीहरुले आफूमा भएको क्षमता बाहिर ल्याउन सक्ने धारणा राखे।

डीपीएलले नेपाली क्रिकेटलाई व्यवसायिक रुपमा संस्थागत गरेको छ,’ ढुंगानाले भने, लुकेर रहेका क्रिकेटका प्रतिभाहरुलाई बाहिर निकाल्न थप यस्ता प्रतियोगिताहरु देशमा हुन आवश्यक छ।’

यस्तै आयोजक डीसीएका अध्यक्ष शाहीले अघिल्लो संस्करणमा साथ दिएका प्रायोजकहरुले यस संस्करणमा पनि साथ दिएकाले आयोजकका हिसाबले त्यो आफूहरुको सफलता भएको बताए।
प्रायोजकलाई उनीहरुको लगानीको प्रतिफल दिनसक्नु ठूलो चुनौती हो,’ शाहीले भने, गतवर्ष पहिलो संस्करणमा हामीलाई साथ दिएका प्रायोजकहरु पुनः यस संस्करणमा अझै ठूलो रुपमा सहयोग गर्न अगाडी आउनु हामीले सफलताका रुपमा लिएका छौं।’

प्रायोजकहरुको विश्वास र साथले मात्रै प्रतियोगिताअघि बढ्न सहयोग पुगेको बताउँदै शाहीले एसपीए कपको पहिलो संस्करण देखि रहेका प्रायोजकहरुले अहिलेसम्म पनि निरन्तर सहयोग गरिरहेको बताए।

डीपीएललाई मुख्य प्रायोजन रुस्लानले गरेको छ।
रुस्लान डीपीएल२ मा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी गरी ६ टोलीले सहभागिता जनाउँदै छन्।

प्रतियोगिताका टोलीहरुले फागुन ९ गते काठमाडौंमा भएको अक्सनबाट खेलाडीहरु अनुबन्ध गरिसकेका छन्। प्रत्येक टिममा एक रणनैतिक खेलाडीसहित दुई विदेशी खेलाडी पनि रहनेछन्।

अनुमानित ३ करोड लागत रहेको रुस्लान डीपीएल२ को विजेतालाई २५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ। जुन नेपाली क्रिकेटको सर्वाधिक पुरस्कार राशी हो। तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख पाउने आयोजकले जनाएको छ। गतवर्ष पहिलो संस्करणको विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो। प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन्।

डीपीएल दुईको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप ११ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।