Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी !

भैरहवा, १२ फागुन ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’ को समूह (डी) को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई २ सय ४१ रनको फराकिलो अन्तरले हराउँदै विजयी भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३ विकेटको क्षतिमा ३ सय ६० रनको योगफल तयार गरेको थियो । उसका लागि संदीप रजालीले नटआउट १ सय २०, अन्तिम थापाले नटआउट १ सय १३, शंकर रानाले ५५ र मिर्नाल गुरुङले ३७ रनको योगदान दिए । बलिङमा बुद्धका रिजन प्रजू, रोशन गौतम र राजेश चौधरीले १/१ विकेट लिए ।

प्रतिउत्तरमा ३ सय ६१ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको बुद्धले निर्धारित खेलमा ४० ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय १९ रन मात्र बनाउन सक्यो । जसमा रिजन प्रजूले ४४ र उदयकुमार मल्लिकले २५ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो अंक बटुल्न नसक्दा टिमले नराम्रोसँग हार व्यहो¥यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा लुम्बिनी खुकुरीका लालबहादुर अधिकारीले ३, मानबहादुर थापा, राहुल चौहान र साहव आलमले समान २/२ विकेट लिए ।

खेलमा लुम्बिनी खुकुरीका संदीप रजाली म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।


आइतबार समूह (सि) अन्तर्गत एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवा र प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले बताए ।


प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।