Cricket Himalaya
Cricket News From Top of The World

डिभिजन ‘बी’ को अन्तिम खेलबाट बुम एमसिसि रुपन्देहि सुपर लिगको डिबिजन ‘ए’ मा प्रबेश !

प्रकाश न्यौपाने

भैरहवा, ९ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’ अन्तर्गतको अन्तिम खेलमा बुम एमसिसी क्रिकेट क्लब भैरहवाले बुटवल राइनोज क्रिकेट क्लब बुटवललाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बुम एमसिसी डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

६१ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको बुम एमसिसीले निर्धारित ४० ओभरको खेलमा ३ विकेटको क्षतिमा ९ ओभर ४ बलमा लक्ष्य भेट्टाउँदै जित निकाल्यो । उसको जितमा तुलाराम थापाले नटआउट ३३ र राहुल उपाध्यायले नटआउट १७ रन बनाए । बलिङमा बुटवल राइनोजका अजय चौधरीले २ तथा अर्जुन रेग्मीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित खेलमा सबै विकेटको क्षतिमा १९ ओभर ३ बल खेल्दै जम्मा ६० रनको झिनो योगफल तयार गरेको थियो । उसका लागि अंकित श्रेष्ठले १९ रन बनाए पनि अन्य ब्याट्स म्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले नराम्रोसँग हार व्यहो¥यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा बुम एमसिसीका रमेश कुर्मीले ४ ओभर ३ बलमा २ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच समेत घोषित भए । यस्तै संदीप केसीले २, दुर्गेश गुप्ता र अभिषेक गौतमले समान १/१ विकेट लिए ।

बुम एम सि सि का रमेस कुर्मी म्यान अफ द म्याच भयका थिय !


बुधबारको खेलसँगै डिभिजन ‘बी’का सबै खेल सकिएको आयोजक संस्थाका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । यसपटक पछिल्लो वर्ष रेलिगेशनमा परी ‘बी’ डिभिजनमा घटुवा भएका शंकरनगर क्रिकेट क्लब शंकरनगर, बुम एमसिसी क्रिकेट क्लब भैरहवा र प्रोपफेशनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवा पुनः डिभिजन ‘ए’ मा प्रवेश गरेका छन् भने साई ग्लोबल क्रिकेट क्लब भैरहवा नयाँ क्लबको रुपमा डिभिजन ‘ए’मा प्रवेश गरेको छ ।


बिहीबार लिग चरण अन्तर्गत डिभिजन ‘ए’ मा शिवशक्ति क्रिकेट क्लब भैरहवा र ज्ञानोदय क्रिकेट क्लब करहियाबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ !