Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगमा साई ग्लोबल क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश !

प्रकाश न्यौपाने

भैरहवा, ७ फागुन ।

साई ग्लोबल क्रिकेट क्लब भैरहवा ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको डिभिजन बी अन्तर्गतको खेलमा साई ग्लोबलले बुटवल ११ क्रिकेट क्लब बुटवललाई १ सय ८७ रनको फराकिलो अन्तरले हराउँदै ‘ए’ डिभिजनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो । उसका लागि रुपेश बास्तोलाले १ सय ३३ रनको पारी खेले ।

यस्तै इमरान खाँनले ३९ र आनन्द गौडले २४ रन बनाए । बलिङमा बुटवल ११ का प्रदीप भण्डारीले ३ र तिलक श्रेष्ठले २ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ६६ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको बुटवल ११ ले निर्धारित खेलमा २३ ओभर २ बल खेल्दै सबै विकेट गुमाई जम्मा ७८ रन बनायो । उसका लागि कृष्ण सेनले २५ र अमित श्रेष्ठले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक बटुल्न नसक्दा टिमले हार व्यहो¥यो । बुटवल ११ लाई सस्तैमा समेट्ने क्रममा साई ग्लोबलका इमरान पठन र दुर्गेश कुर्मीले ३÷३ तथा बसिर खाँनले २ विकेट लिए । खेलमा साई ग्लोबलका रुपेश बास्तोला म्यान आफ द म्याच घोषित भए ।


मंगलबार डिभिजन ‘ए’ प्रवेशका लागि प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवा र जेजेसिए जवही क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका सचिव संजय गुरुङले बताए ।


प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।