Cricket Himalaya
Cricket News From Top of The World

शंकरनगर क्रिकेट क्लब रुपन्देही सुपर लिगको ‘ए’ डिभिजनमा प्रवेश !

प्रकाश न्यौपाने, क्रिकेट हिमालय

भैरहवा, ६ फागुन ।

शंकरनगर क्रिकेट क्लब शंकरनगर ए डिभिजनमा प्रवेश गरेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन बी अन्तर्गतको खेलमा शंकरनगरले लुम्बिनी कसाई क्रिकेट क्लब लुम्बिनीलाई १ सय ३१ रनले पराजित गरी ए डिभिजनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले निर्धारित ४० ओभरको खेलमा ३८ ओभर १ बल खेल्दै सबै विकेटको क्षतिमा २ सय ५१ रनको योगफल तयार गरेको थियो । उसका लागि अजय कौशिला र देव खनालले ६०/६० तथा तुलबहादुर थापाले ५७ रनको योगदान दिए । बलिङमा लुम्बिनी कसाईका मौनउद्दिन खाँन, रुपेश कुर्मी, महेश मिश्रा र मुराद अलीले समान २/२ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ५२ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको लुम्बिनी कसाईले निर्धारित खेलमा २६ ओभर ३ बल खेल्दै सबै विकेटको क्षतिमा जम्मा १ सय २० रन मात्र बटुल्न सक्यो । उसका लागि राहुल लोहारले ३२ र सुनिल धवलले २६ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिमले हार व्यहो¥यो ।

बलिङमा शंकरनगरका अनिल खरेलले ५ र खेलका म्यान अफ द म्याच समेत रहेका तुलबहादुर थापाले ३ विकेट लिए ।


सोमबार साइ ग्लोबल क्रिकेट क्लब भैरहवा र बुटवल–११ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।


प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।