Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगमा जवही जितगढी क्रिकेट क्लब विजयी, डिबिजन ए को एक स्टेप नजिक !!

प्रकाश न्यौपाने, क्रिकेट हिमालय

भैरहवा, ५ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन बी अन्तर्गतको खेलमा जवही जितगढी क्रिकेट क्लब बुटवलले स्टार क्रिकेट क्लब पड्सरीलाई १ सय ५९ रनले पराजित गरेको छ ।

जवही जितगढीले डिभिजन ए प्रवेशका लागि अब ८ गते प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवासँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर पहिला ब्याटिङ गरेको जवही जितगढीले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । उसका लागि संदीप सुनारले ७६, आकाश थापाले ४६, सुनिल क्षेत्रीले नटआउट ३४ र संगम क्षेत्रीले २६ रनको योगदान दिए । बलिङमा स्टारका शतिष मगरले ३, रुपेश बश्याल र संदीप पाण्डेले समान २/२ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ५८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको स्टारले निर्धारित खेलमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाई जम्मा ९८ रन मात्र जोड्न सक्यो । उसका लागि राजु शाहनीले ३३, शतिष मगरले १८ र हेन्सी क्षेत्रीले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो अंक बटुल्न नसक्दा टिमले हार बेहर्यो । बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका स्टारका संदीप सुनारले ३ र नितेश थापाले २ विकेट लिए ।


आइतबार शंकरनगर क्रिकेट क्लब शंकरनगर र लुम्बिनी कसाई क्रिकेट क्लब लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबाट विजयी टिम डिभिजन ए मा प्रवेश गर्ने आयोजक संस्थाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।


प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।