Cricket Himalaya
Cricket News From Top of The World

रुपन्देही सुपर लिगमा साइ ग्लोबल क्रिकेट क्लब बिजयी !

भैरहवा, ४ फागुन । 

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन बी अन्तर्गत शुक्रबार भएको खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवाले बुटवल युथ क्रिकेट क्लब बुटवललाई २१ रनले पराजित गरेको छ । साई ग्लोबल डिभिजन ए मा प्रवेशका लागि ७ गते बुटवल ११ क्रिकेट क्लब बुटवलसँग प्रतिस्पर्धा गर्ने छ । 

शुक्रबारको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको साइ ग्लोबलले निर्धारित ४० ओभरको खेलमा ३७ दशमलभ १ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ७४ रनको योगफल तयार गरेको थियो । उसका लागि बसिर अहम्मदले ४७, इमरान खाँनले २५ र आनन्द पौडलले २३ रनको योगदान दिए । बलिङमा बुटवल युथका विराज परियार, विश्व रनपाल, हिरामणि पौडेल र अनुप बश्यालले समान २/२ विकेट लिए । 

प्रतिउत्तरमा १ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा बुटवल युथले निर्धारित खेलमा ३९ दशमलब ४ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा १ सय ५३ रन मात्रै बनाउन सक्यो । उसका लागि कमल जैशी र शैलेश श्रेष्ठले ४४/४४ तथा अनुप बश्यालले नटआउट २५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 

बलिङमा साइ ग्लोबलका बसिर अहम्मद, दुर्गेश कुर्मी र रुपेश बास्तोलाले समान २/२ विकेट लिए । खेलमा साइ ग्लोबलका बसिर अहम्मद म्यान अफ द म्याच घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।


शनिबार स्टार क्रिकेट क्लब पड्सरी र जवही जितगढी क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले बताए ।


प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । फागुन २६ गतेसम्म चल्ने प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको छ ।