Cricket Himalaya
Cricket News From Top of The World

प्रतिकुल अवस्थामा हुर्कदै गरेको नेपाली क्रिकेट : सिमितता र सम्भावना

प्रसान्त पौडेल, कृकेट हिमालय 

क्षमता हुँदाहुँदै नेपाली क्रीकेटरहरुको प्रदर्शन उत्साहजनक नभएपनि सन्तोषजनक पनि हुन सकेको छैन । नेपाल जस्तो विकासोन्मुख देशमा क्रीकेटमा सरकारको खासै ध्यानाकर्षण त नभएकै थियो । तर सरकारको नजरमा नपर्ने क्रीकेट क्षेत्रमा भने राजनीतिक हस्तक्षेप चरम सीमामा पुगेको पाइन्छ । क्रीकेटको निकायलाई समेत राजनीतिकरण गरेर नेपाली क्रीकेटलाई अभिभावक बिहिन हुने स्थितिमा पुर्याइएको छ । स्थानीय स्तरमा क्रीकेटलाई जोड दिनु त परको कुरो, देशमा राष्ट्रिय खेलाडीहरुलाई समेत क्रीकेट खेल्ने उचित वातावरण छैन । अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउने त परको कुरो, घरेलु स्तरमा समेत खेल खेलाउन रंगशाला नभए पनि गतिलो मैदानको समेत अभाव छ ।

नेपालले क्रीकेट खेल्न सुरु गर्दादेखिको त्रिभुवन विश्वविद्यालयको मैदानमा विश्वकपको अनुभव बटुलिसकेको अवस्थामा पनि सोहि मैदानमै स्थानीय स्तरका खेल, उमेर समूह, महिला टोलिदेखि लिएर राष्ट्रिय टोलिले पनि एउटै मैदानमा सबै कुरा गर्नुपर्ने विडम्बना हामीमाझ अवगत नै छ । दशकौं वर्षदेखी मुलपानीको नाम मात्र सुनिएर आजसम्म आईपुग्दा सम्म तल्लो र माथिल्लो मुलपानी मैदानको अवस्था देख्दा नेपाली क्रीकेटको विकासको लागि रहेको जटिलतालाई हामी आफै नै महसुस गर्न सक्दछौ । राष्ट्रिय खेलाडीहरुले देशको लागि खेल्दा समेत आफ्नो आवश्यकिय सुविधा उपभोग गर्ने खर्च नजुटेको अवस्थामा नेपाली क्रीकेटमा नयाँ अनुहारलाई फितलो मात्रामा देखिनु स्वभाविक नै भयो । यस्ता यावत् प्रतिकुलताका बिच पनि नेपालको उमेर समूहले भने अन्तर्राष्ट्रिय स्तरमा उत्साहाजनक नतिजा ल्याउने सिलसिला कायम नै रहेको छ । उमेर समूहले आफुलाई विश्वकपमा सशक्त रुपमा उभ्याउने देखि लिएर क्रीकेटमा नाम कहलिएका टेस्ट मान्यता राष्ट्रहरुलाई समेत हराउन सफल भईरहेको छ । तर त्यही खेलाडीहरु राष्ट्रिय टिममा आउने अवस्थासम्मको समयमा आफुलाई खरो सावित गर्न सकिरहेका छैनन् ।

राष्ट्रिय खेलाडीहरु समेत खेलमा व्यस्त हुन नपाउने हाम्रो देशमा उदाउँदा खेलाडीहरु व्यस्त हुन नपाउनु पनि स्वभाविक नै भयो । राष्ट्रिय खेलाडीहरुले समेत स्तरीय प्रशिक्षण नपाउने अवस्थामा उदाउँदा खेलाडीहरुले प्रशिक्षण नै नपाउने कुरा पनि स्वभाविक नै भयो । क्रीकेटबाट केही नहुने अवस्थाको अनुभूति भएरै थुप्रै क्षमताहरुले देशलाई नामको सट्टा रेमिट्यान्स दिनुपर्ने विडम्बना रहेको छ ।यस्ता देख्दा सानो देखिने तर वास्तविकतामा संवेदनशील रहेका समस्याहरुको कारण नै नेपाली क्रीकेटले गतिलो खेलाडी पाउन सकेको छैन र पुराना खेलाडीहरु अझैपनी राष्ट्रिय टोलिबाट खेल्दै आईरहेका छन् । क्रीकेट क्षेत्रमा विविध प्रतिकुलताका बिच पनि नेपाललाई आजसम्म पुराना खेलाडीहरुले नै यहाँसम्म लतार्नुपरेको अवस्था छ । भन्दा पुराना अनुभवी खेलाडी भनेपनी प्रदर्शनमा भने कुनै परिपक्वता आउन नसकेकै कारण राष्ट्रिय टोलीले अपेक्षित प्रदर्शन पनि गर्न सकिरहेको छैन ।

नेपालले विश्वकप खेलिसकेपश्चात क्रीकेट विकासको लागि सन्तोषजनक कदम नलिइएको र अपेक्षा मात्र बढी भैरहेको अवस्थामा बल्ल ढिलै भएपनी अहिलेको समयमा घरेलु प्रतियोगिताहरु निजि क्षेत्रबाटै भएको कुरा साँच्चिकै प्रशंसनीय रहेको छ । ढिलै भएपनी मूलपानी मैदानलाई खेल्न मात्र लायक बनाइएको कुराले देखिएको सकारात्मक सङ्केतले छिटोभन्दा छिटो नेपाली क्रीकेटको विकास भएको नदेखिएमा नेपाली क्रीकेट ओरालो बाटोमा जाने निश्चित छ । क्रीकेट बोर्ड नभएको अवस्थामा एकदिवसीय विश्वकप क्रीकेटमा छनोट हुने यो छोटो र महत्त्वपूर्ण समयमा नेपाली क्रीकेटको लागि अवसर र चुनौती दुवै चरम सीमामा रहेको छ ।

थुप्रै प्रतिकुलताका बिच पनि पछिल्लो समयमा नेपालले एकदिवसीय क्रीकेटमा आजसम्म खेलेमध्यको ठूलो प्रतियोगिता वर्ड क्रीकेट लिगमा सहभागीता जनाएको छ । सो प्रतियोगितामा नेपाल र केन्यालाई ICC ले वर्ड क्रीकेट लिग डिभिजन 2 मा तेस्रो र चौथो हुँदा सहभागीताको लागि अवसर दिएपनी दुवै देशले अनुभव बटुल्ने बाहेकको फाइदा उठाउन भने सकेनन् । आठ राष्ट्र सम्मीलित सो लिगको उत्कृष्ट चारमा पर्दै नेदरल्यान्ड, स्कटल्यान्ड, हङकङ र पपुवा न्यु गिनीले एकदिवसीय विश्वकपको छ्नोट खेल्ने मौका प्राप्त गरे ! यो लिगबाट छनोट नभएर केन्या, संयुक्त अरब इमिरेट्स, नेपाल र नामिबिया डिभिजन 2 मा घटुवा भएपनी एकदिवसीय विश्कपको बाटो भने अझै बन्द भईसकेकोे छैन । यी चार राष्ट्रसहित डिभिजन 3 बाट पहिलो र दोस्रो भएर  ओमान र क्यानडा पनि डिभिजन 2 मा आएका छन् । यी छ राष्ट्रले 2018 january 8 देखि 15 सम्म नामिबियामा वर्ड क्रीकेट लिग डिभिजन 2 मा सहभागिता जनाउने छन् भने सो प्रतियोगिताको विजेता र उपविजेता हुने राष्ट्रलाई विश्वकप छनोट खेल्ने अन्तिम मौका रहेको छ । त्यसैले यो छोटो र चुनौतीपूर्ण समय तर नेपाली क्रीकेटको लागि कोशेढुङ्गा सावित हुनसक्ने अवसरको समय रहेकाले पनि यो महत्त्वपूर्ण समयमा नेपाली क्रीकेटको भविष्य कोर्नकै लागि पनि सबैले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ ।

ICC ले क्रीकेट बोर्ड गठन गर्न नेपाललाई पटक पटक आदेश दिएपनी राजनीतिक स्वार्थ र असमझदारीकै कारण क्रीकेट बोर्ड बन्न नसकेको बेलामा अब सबैले सोच्नुपर्ने समय आएको छ । त्यसैले अब निजि क्षेत्रबाट खेलाइएको T-20 लिग र एक हप्ताको क्लोज क्याम्पबाट खेलाडी छनोट गरेर एकदिवसीय विश्कप खेल्न खोज्नु केवल दिवास्वप्न बाहेक अरु केही हुनै सक्दैन । पुबुदा दासानायेकेले नेपाली टिमलाई छोड्दा जगत टमाटाको प्रशिक्षणमा नेपालको प्रदर्शन झन्झन् खराब हुँदै गएकाले जगत टमाटाको प्रशिक्षणमा विश्वकप खेल्न खोज्नु वा नेपाली क्रीकेट माथी पुग्छ भन्ने लाग्ने पनि दिवास्वप्न बाहेक अरु केही हुनै सक्दैन । त्यसैले अबको समयमा राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको निस्वार्थी क्रीकेट बोर्ड गठन गर्दै नेपाली क्रीकेटको सुरक्षित भविष्यको लागि ठोस योजना लिइनु बाहेकको अन्य केही विकल्प नै देखिदैन ।