Cricket Himalaya
Cricket News From Top of The World

नेपाली क्रिकेटमा टिम छनोटका आधार

– सौरभ आचार्य , कृकेट हिमालय

सन् १९८८ को डिसेम्बर महिनामा भारतको रणजी ट्रफीको खेलमा मुम्बईले आफ्नो घरेलु मैदानमा गुजरातसँग खेलिरहेको थियो । मुम्बईको लागि ब्याटिङ गर्न आएका थिए आफ्नो खेल जिवनको पहिलो खेल खेलिरहेका १५ वर्ष २३२ दिनका युवा खेलाडी जसले पहिलो खेलमा नै शतक प्रहार गर्दै भारतको प्रथम श्रेणीको क्रिकेटमा शतक बनाउने सबै भन्दा कम उमेरको खेलाडी बन्न सफल भए । यो प्रथम श्रेणीको शतकले उनको अन्तराष्ट्रिय क्रिकेट यात्राको बाटो खोलीदिएको थियो जसले गर्दा भारतले सन् १९८९ मा पाकिस्तानको भ्रमण गर्दा यि १६ वर्षिय खेलाडीलाई टिममा समावेश गरेको थियो । १६ वर्ष २२३ दिनको उमेरमा देशको प्रतिनिधितव गर्दै विश्वका तिब्र गतिका खतरनाक बलरहरु वाशिम अक्रम र वाकर युनुसका सामना गर्ने ति युवा थिए सचिन तेन्दुलकर ।

१६ वर्षको उमेरमा अन्तराष्ट्रिय खेलजिवन सुरु गरेका सचिनले आफ्नो अन्तिम खेल खेल्दा सम्म बनाएका किर्तिमानहरु आज पनि भङ्ग हुनसकेका छैनन् र सचिनको किर्तिमानहरु भङ्ग गर्न जो कोहीलाई पनि निकै चुनौतीपूर्ण देखिन्छ । सचिनको क्रिकेट यात्राबाट नेपालले सिक्ने भनेको खेलाडी छनौट र युवा खेलाडीहरु प्रतिको विश्वास र भरोसा नै हो जसको अभावमा नेपाली क्रिकेट दिनादुदिन खस्कदै गइरहेको छ ।

खेलाडी छनौटको महत्वपूर्ण आधार भनेको घरेलु क्रिकेट प्रतियोगिता नै हो । क्रिकेटका सुपरस्टार सचिनले पनि घरेलु क्रिकेट खेल्ने र त्यसमा आफ्नो खेलको कौशल देखाउन नपाएको भए सायद विश्व क्रिकेट जगतले सचिन तेन्दुलकर पाउन सक्ने नै थिएन । घरेलु क्रिकेटको यो भन्दा महत्वपूर्ण विषेशता र आवश्यकताको कारण अर्को खोजिरहनु नपर्ला । घरेलु क्रिकेटले खेलाडीहरुमा निरन्तर खेलको अभ्यास दिरहने गर्छ भने खेलाडीहरुलाई विभिन्न परिस्थितिमा खेल कसरी अगाडी बढाउने भन्नेकुरामा मानसीक रुपले तयार पार्न मद्धत गर्छ । जति धेरै घरेलु क्रिकेटमा खेलाडीहरु व्यस्त रहन्छन् त्यति नै खेलाडीहरुको खेल क्षमता बढ्दै जान्छ । घरेलु प्रतियोगिताहरुको मार्फत नै युवा प्रतिभाहरुले राष्ट्रिय टोलिमा आफ्नो दाबेदारी प्रस्तुत गर्नसक्नेछन् । जसरी खेलाडी छनौटको लागि घरेलु क्रिकेट महत्वपूर्ण रहन्छ ठिक त्यसरी नै घरेलु क्रिकेटको लागि क्रिकेटको बलियो निकाय चाहिन्छ । हामी विभिन्न देशहरुको बलियो घरेलु संरचनाको त चर्चा सधै गर्छौ तर ति देशहरुको बलियो क्रिकेटको निकायबारे भने हामी सधै मौन रहन्छौ ।

केही वर्ष अगाडीमात्र राजनितिक खिचातानीको कारणले नेपाली क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान) गुमाएको हाम्रो देशमा अहिले क्रिकेटको एउटा आधिकारीक र बलियो निकाय नै छैन । हुन त क्यान अस्थितवमा रहदापनि उक्त संस्थाले आवश्यक मात्रामा क्रिकेटको आन्तरिक संरचना निमार्ण गर्न सकेको त थिएन । तर पनि केही हदसम्म सिमित मात्रामा भएपनि घरेलु क्रिकेट गराउने र क्रिकेटको एउटा जिम्मेवार निकायको रुपमा प्रस्तुत हुने प्रयाससम्म गर्ने सोचमा क्यान हुने गर्दथ्यो । सोच कहिले पूरा गर्न नसकेपनि त्यसको लागि न्यूनमात्रामा मात्र भएपनि प्रयास गरिरहने निकाय भने क्यान बनिरहन्थ्यो । क्यान अस्तित्वमा रहदा राष्ट्रिय टोलीको खेलाडी छनौटको लागि प्रशिक्षक र कप्तानसँगको सहकार्यमा क्यानद्वारा गठित विशेषज्ञहरु सम्मिलित छनौट समिति मार्फत खेलाडी छनौट गरिनुपर्ने थियो तर यसप्रक्रियापनि अपनाइएको भने थिएन । तर पनि सिमित मात्रामा नै भएका घरेलु प्रतियोगिताको आधारमा उपलब्ध भएसम्मका उत्कृस्ट खेलाडीहरु छनौट गर्ने प्रयासमा क्यान केही मात्रामा प्रयासरत रहन्थ्यो । तर नेपाली क्रिकेटको आधिकारिक निकाय क्यान नै विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसि बाट निलम्बनको अवस्थामा पुगेपछि एकातिर नेपाली घरेलु क्रिकेट ध्वस्त भएको छ भने अर्कोतिर नया खेलाडीहरु आउने सम्भावना पनि निकै कम देखिएको छ ।

राष्ट्रिय टोलीमा खेलाडी छनौट गर्दैगर्दा प्रायस वर्तमान र विगतलाई मात्र हेरेर नभइ भविष्यलाई पनि हेरेर खेलाडी छनौट गरिनु क्रिकेटको निम्ति फाइदाजनक हुने गर्दछ । उदाहरणको निम्ति भारतिय क्रिकेटको सन् २०११ को विश्वकप पछिको खेलाडी छनौटलाई हामीले लिन सक्छौ । उक्त विश्वकपमा भारतको विजयी अभियानका नायकहरु गौतम गम्भिर, विरेन्द्र शहवाग, युवराज सिंह, जाहिर खानहरुको विकल्प भारतले त्यसबेला देखी नै नखोजेको भए के आज भारतिय क्रिकेटको यो उचाई सम्भव थियो ? नयाँ खेलाडीहरुलाई एकैपटक टोलीमा बोलाएको भए के उनिहरुमा अहिलेको जस्तो आत्मविश्वास र प्रदर्शन सम्भव थियो ? अन्तराष्ट्रिय खेलहरको सामान्य अनुभवले पनि खेलाडीहरुको प्रदर्शनमा महत्वपूर्ण भुमिका खेलिरहेको हुन्छ । अनुभवि खेलाडीहरु राष्ट्रिय टोलीमा रहदा नै नया खेलाडीहरुलाई पनि अन्तराष्ट्रिय अनुभव गराउन सकिएन भने देशको क्रिकेट अत्यन्त कमनजोर अवस्थामा पुग्ने लगभग निश्चित देखिन्छ । भारतको यहि सजकताले अहिलेको विश्वक्रिकेटमा भारतको दबदबा रहेको हो । अर्कोतिर त्यहि सन् २०११ को विश्वकपपछि भारतले जस्तो सजगता नदेखाउदा आज श्रीलंका कमजोर देखिएको छ । विगत लामो समयदेखि श्रीलंकाको क्रिकेट सम्हालीरहेको कुमारा संगाकारा, महेला जयवर्दाने, तिलकरत्ने दिलशान लगायत खेलाडीहरुको वहिर्गमनपछि श्रीलंकाले आज सम्म पनि आफुलाई सम्हाल्न सकिरहेको देखिदैन । नया खेलाडीहरुको अनुभवहिनताको कारण नै अहिले श्रीलंका लगातारको खराब प्रदर्शन बाट गुज्रिरहेको छ । आफ्नो नजिकको दुई ठुला क्रिकेटिङ राष्ट्रहरु बाट नेपालले टिम छनौट र भविष्यको योजना सहितको टिम तयार गर्ने विषयमा केही सोच्नै पर्छ ।

नेपालको पछिल्लो टिम सेलेक्सनहरु हेर्ने हो भने यसमा केही योजना वा गेम प्लान नै देखिदैन । नेपालको राष्ट्रिय टोली घोषणा गर्ने दिन धेरैले को को खेलाडी पर्लान् भन्ने सहि अनुमान गरिसकेको हुन्छन् किनभने हामीकहाँ नयाँ अनुहार देखिने कुनै सम्भावना नै छैन । हुन त नेपालको आधिकारीक क्रिकेटको निकाय र त्यसअन्तर्गतको विशेषज्ञहरु सम्मिलित छनौट समिति नहुदा भावि योजना सहितको टिम छनौट नभएको भन्न सकिएला तर वर्तमान आवश्यकता अनुसार पनि नेपाली राष्ट्रिय टोलीको छनौट भएको देखिदैन । प्रायस कुनै खेलको लागि खेलाडी छनौट गरिदा खेल खेलिने मैदानको कण्डिसन, त्यस पिचको सम्धावित प्रकारको आधारमा खेलाडीहरु छनौट गरिन्छ तर हाम्रोमा भने यस्तो प्राविधिक कुराले कहिल्यै महत्व पाउदैन । हामी जस्तोसुकै खेलको लागि पनि सधै एउटै प्रकारको रणनितिमा खेल्ने गर्छौ । पिच तिब्र गतिको बलरलाई फाइदा हुने होस् वा स्पिनलाई सहयोग नगर्ने पिच होस् हामीलाई कुनै असर नै गर्दैन किनभने दुई तिब्र गतिका बलर अनि ४ वा ५ स्पिनर भएको हाम्रो स्थायी राष्ट्रिय टोली रहने गर्छ । हामीकहाँ नया खेलाडी नभएका पनि होइनन् तर आधिकारीक निकायको अनुपस्थितिमा हाम्रा नया खेलाडीहरुले सन् २०१४ को विश्वकप नखेलेका कारण विश्वकप खेलेका खेलाडीहरुको अनिवार्य टिममा उपस्थििति हुनै पर्ने हाम्रा पुराना खेलाडीहरुको स्वघोषित नियमको कारण नै नया खेलाडीहरुले अवसर पाउन मुस्किल छ । विश्वकप पछि एउटा खेलमा पनि राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई त्यहि अनुभवको कारणले मात्र टिममा राखिरहदा नेपाल सधै ति खेलाडीहरुको खराब प्रदर्शनको सिकार भइरहेको नै छ ।

नेपाली खेलाडीको छनौटमा अझैपनि पुरानो शैली र पुरानै अनुहार मात्र दोहोराउने हो भने हाम्रो क्रिकेट भविष्यमा आजको भारत जस्तो नभइ आजको श्रीलंका जस्तो हुने निश्चित छ ।

अतः नेपाली क्रिकेटको अभिभावकत्व गर्ने बलियो निकायको अभावमा आवश्यक मात्रामा घरेलु क्रिकेट नहुदा नेपालका भावी सचिन तेन्दुलकरहरु क्रिकेटबाट पलायन भइरहेका छन् भने डेट एक्सपायर्ड खेलाडीहरु नेपाली क्रिकेटको मलामी बनिरहेकाछन् जसले चाडै  नै नेपाली क्रिकेटलाई आर्यघाटमा पुर्याएर विश्राम गर्नेछन् ।